बैशाख ६, २०८३ आइतबार

बागमती, ६ वैशाखः बागमती र लुम्बिनी  प्रदेशसभाको बैठक आज अलग अलग बस्दैछन् । बागमती प्रदेशसभाको बैठक आज बिहान ११ः०० बजे र लुम्बिनी  प्रदेशसभाको बैठक अपराह्न १ बजेबस्ने सम्भावित कार्यसूचि  छ ।  

बागमती प्रदेशसभा बैठकमा विभिन्न विधेयकको सैद्धान्तिक पक्षमा छलफल हुने र विधेयकमाथि दफावार छलफलका लागि विषयगत समितिमा पठाउने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो । 

प्रदेशसभाको गत चैत २५ र २६ गते बसेको बैठकमा ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’ र ‘प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’ प्रस्तुत भई समान्य छलफलसमेत भएको थियो । 

सोही विधेयकको सैद्धान्तिक पक्षमा छलफल गरी दफावार छलफलका लागि विषयगत समितिमा पठाउने र त्यहाँबाट प्राप्त सुझावसहित समेटिएको छुट्टाछुट्टै प्रतिवेदन तयार पार्ने सचिव पौडेलले बताउनुभयो ।  

    यसैगरी लुम्बिनी प्रदेशसभाको बैठक तीन कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । 

    बैठकको सुरुआतमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा आफ्नो धारणा राख्नुहुनेछ । यस्तै, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्ड बिक्रम न्यौपानेले‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक’दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

    प्रदेश मामिला तथा कानून समितिका सभापति दिलकुमारी बुढाले समितिको वार्षिक प्रतिवेदन सभामा पेश गर्ने कार्यसूची पनि तय गरिएको छ ।