भक्तपुर, ११ असोजः बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा प्रदेश सरकारले सूर्यविनायक क्षेत्रमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्ने बताउनुभएको छ ।
विश्व पर्यटन दिवसका अवसरमा भक्तपुर नागरिक समाजले आज यहाँ आयोजना गरेको ‘भक्तपुरमा पर्यटनको सम्भावना र अवसर’ कार्यक्रममा उहाँले उद्यान बनाएर त्यसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताउनुभयो ।
तत्कालीन सरकारले सूर्यविनायकस्थित वन क्षेत्रलाई राष्ट्रिय प्राणी उद्यानका रूपमा विकास गर्ने उद्देश्यले २०७३ सालमा उद्यान निर्माणको शिलान्यास गरेको थियो ।
वन तथा भूसंरक्षण मन्त्रालयले सूर्यविनायक र अनन्तलिङ्गेश्वर नगरपालिका क्षेत्रका वन समेटेर राष्ट्रिय प्राणी उद्यान विकासको काम अघि बढाएको थियो । प्रस्तावित उद्यानमा सात सामुदायिक र राष्ट्रिय वनको केही भागसहित कुल २४५.१६५ हेक्टर वन क्षेत्र छ ।