बन्दीपुर, १८ वैशाखः गाउँ पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय गन्तव्य बन्दीपुरमा दुईदिने ‘होमस्टे मार्ट’ सुरु भएको छ ।
नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजना तथा गाउँ पर्यटन प्रवर्द्धन मञ्च(भिटोफ) को सहआयोजनामा मार्ट आयोजना गरिएको हो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेका अनुसार मार्टका क्रममा बन्दीपुर र आपसका पर्यटकीयस्थलका साथै रुम्सी होमस्टे, रामकोट होमस्टे, सिद्ध गुफालगायत स्थानको पर्यटन व्यवसायी एवं सञ्चारकर्मीलाई भ्रमण गराइएको थियो ।
मार्टका माध्यमबाट बन्दीपुर ग्रामीण पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबाबु थापाले बताउनुुभयो । बन्दीपुर भ्रमण वर्ष २०२५पछि पुनः बन्दीपुर गाउँ पर्यटन भ्रमण वर्ष घोषणा गरिएकोभएका अवस्थामा मार्ट यहाँको पर्यटकीय विकासमा महत्वपूर्ण बन्ने उहाँले विश्वास व्यक्त गर्नुुभयो ।
मार्टमा गण्डकी प्रदेशअन्तर्गतका ११ वटा जिल्लामध्ये म्याग्दीबाहेक सबै जिल्लाका २९ वटा होमस्टेका प्रवर्द्धनकक्ष समावेश छन् । गाउँ पर्यटनसम्बन्धी विभिन्न विषयमा छलफलका पनि आयोजना भएका छन् ।