मोरङ, ३१ वैशाखः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको आर्थिक गतिविधि सुदृढ बनाउन निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशद्वारा आज विराटनगरमा आयोजित चौथो कार्यकारिणी समितिको पदस्थापन समारोहको उद्घाटन गर्दै उहाँले निजी क्षेत्रलाई विश्वासमा लिएर समृद्धिको अभियान अघि बढाइने बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले राजनीतिक स्थायित्वसँगै मुलुकले आर्थिक रूपमा सकारात्मक दिशा लिने विश्वास व्यक्त गर्दै वर्तमान सरकारले देशविकासप्रति जनतामा विश्वास बढाएको बताउनुुभयो ।
उहाँले प्रदेश सरकारले आगामी बजेटलाई उत्पादनमुखी क्षेत्रमा केन्द्रित गर्न निर्देशन दिइएको बताउँदै विकासलाई सडक र पुलमा मात्र सीमित नराखी सूचना प्रविधि, पर्यटन तथा औद्योगिक क्षेत्रमा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले उद्योग–व्यवसायमैत्री वातावरण निर्माणमा महानगरले निरन्तर सहयोग गर्ने बताउनुभयो ।
महासङ्घका नवनिर्वाचित अध्यक्ष राजेन्द्रबहादुर राउतले जलविद्युत्, पर्यटन, उद्योग र कृषिको आधुनिकीकरण गरेर समृद्ध नेपाल निर्माण गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।