जेठ १, २०८३ शुक्रबार

खोटाङ, १ जेठः ऐसेलुखर्क गाउँपालिकाका अपाङ्गता भएका २१ जनालाई सहज जीवनयापनका लागि विविध सहायक सामग्री वितरण गरिएको छ । 

अपाङ्गता भएका चार जनालाई ‘ह्विलचियर’, र दश जनालाई ‘ट्वाइलेट चियर’, दुई जनालाई ‘एलकेन’ लौरो, एक जनालाई  ‘हेयरिङ एड’,  अन्य एक जनालाई ‘मोडिफाइ सुज’ र दुई जनालाई कृत्रिम हात वितरण गरिएको हो ।  

गाउँपालिकामा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत विनियोजन भएको रु तीन लाख बजेटमार्फत विभिन्न प्रकारका सहायक सामग्री खरिद गरेर वितरण गरिएको कार्यक्रम संयोजक भक्तबहादुर राईले राससलाई जानकारी दिनुभयो  । 

ऐसेलुखर्क गाउँपालिकामा गाउँपालिका, कोशी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशनको संयुक्त साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गरिएको हो । 

ऐसेलुखर्क बजारस्थित  गाउँपालिकाको कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रममा गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले सामग्री वितरण गर्नुभएको हो । उक्त कार्यालयका अनुसार यो पालिकामा २७७ जना अपाङ्गता भएका व्यक्ति छन् ।