म्याग्दी, २५ कात्तिकः यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन आज म्याग्दीको बेनीस्थित बालगृहमा आश्रित बालबालिकाले सामूहिक रूपमा भाइटीका लगाएर तिहार मनाएका छन् ।
नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाले एकअर्कालाई टीका र माला लगाइदिएर भाइटीका मनाएका हुन् । बालबालिकालाई तिहारमा एक्लोपन महसुस हुन नदिन सामूहिक भाइटीका कार्यक्रम आयोजना गरिएको नेपाल बाल सङ्गठन म्याग्दीका सभापति राजेश शाक्यले जानकारी दिनुभयो । बालगृहमा हाल नौ जना बालबालिका आश्रित छन् । अभिभावकविहीन बालबालिकालाई आश्रय दिनुका साथै माध्यमिक तहसम्मको शिक्षाको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
सभापति शाक्यले व्यक्तिगत रूपमा पूजासामग्री, मिठाई तथा अन्य परिकारको व्यवस्था गरी बालगृहमा भाइटीका कार्यक्रम आयोजना गर्नुभएको हो । विगत चार वर्षदेखि हरेक तिहारमा बालगृहमा सामूहिक भाइटीका कार्यक्रम आयोजना हुँदै आएको छ ।