असोज २७, २०७८ बुधबार

महिनौंसम्म मानिसहरुको नजरबाट लगभग ओझेल रहेपछि चीनका अर्बपति व्यवसायी ज्याक मा अन्ततः हङ्गकङमा देखिएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार उनले त्यहाँ केही व्यावसायी सहयोगीलाई खानाका लागि भेटघाट गरे ।

अघिल्लो वर्ष अक्टोबरमा चीन सरकारको नीतिको आलोचना गरेपछि ज्याक मा महिनौंसम्म गायब भएका थिए । यद्यपि, त्यसपछि उनी जनवरीमा देखिएका थिए । तर अक्टोबरको घटनापछि अलीबाबाका संस्थापक ज्याक मा निकै कम गरी सार्वजनिक रुपमा देखिएका छन् ।

अक्टोबर सन् २०२० मा ज्याक माले आफ्नो भाषणमा चीनको नियामक प्रणालीमाथि प्रश्न उठाएका थिए । यसकारण उनले चिनियाँ अधिकारीको रिसको सामना गर्नुपरेको थियो ।

यतिमात्रै होइन उनको एन्ट ग्रुप फिनटेक आर्मको ३७ अर्ब डलरको आइपीओसमेत निलम्बित गरिएको थियो । अक्टोबरको भाषणपछि सेचीनी नियामकले ज्याक माको कारोबारमाथि निगरानी बढाएको थियो र अलिबाबाविरुद्ध एन्टी–ट्रस्ट जाँच सुरु गरेको थियो ।

यतिमात्रै होइन, उनले एन्टलाई ऋण दिने आफ्नो मुख्य कारोबारलाई यसको अनलाइन पेमेन्ट डिभिजनबाट अलग गर्ने आदेश पनि दिएको थियो । कुनै बेला चीनका सबैभन्दा मुखर व्यवसायीमा गनिने ज्याक मा अब महिनौंसम्म मानिसहरुको नजरमा आउँदैनन् न नै उनले सार्वजनिक रुपमा कुनै बयान नै दिन्छन् ।