जेठ ५, २०८३ मंगलबार

काठमाडौँ, ५ जेठ : राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको विनियोजन विधेयकका सिद्धान्त र प्राथिमकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल भएको छ ।

छलफलका क्रममा दलीय आधारमा सांसदले उक्त प्रस्तावित विषयमाथि आ–आफ्नो धारणा राख्नुभएको छ । यसै क्रममा सांसद विष्णुदेवी पुडासैनीले प्रधानमन्त्रीलाई राज्य व्यवस्थाप्रति उत्तरदायी हुन आग्रह गर्नुभयो । सांसद उर्मिला अर्यालले प्रस्तावित विधेयकका सिद्धान्त र प्राथिमकताका सम्बन्धमा सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभयो ।

सांसद सोमनाथ पोर्तेलले निजी क्षेत्रको आत्मविश्वास बढाउने जिम्मेवारी सरकारको रहेको बताउँदै वित्तीय सङ्घीयताको मार्गचित्रबारे मनन गर्न पनि आग्रह गर्नुभएको छ । सांसद रोशनी मेचेले डिजिटल साक्षरता बढाउने कुरामा सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभयो । बैठकमा महन्त ठाकुर, वासुदेव घिमिरे, सुरेशकुमार आलेमगरलगायत सांसदले धारणा राख्नुभएको थियो ।