असोज २७, २०७८ बुधबार

२७ असोज, काठमाडौं । बुधबार भएको समूह चरणको अन्तिम खेलमा बङ्गलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपालले फाइनलमा स्थान बनाएको छ । यससँगै नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

  खेलको नवौँ मिनेटमा नै नेपाल सुमोन रेजाको गोलमा पछि परेको थियो । त्यसपछि भने नेपालले खेलमा नियन्त्रण राख्दै बंगलादेशमाथि दबाब राखेको थियो । खेलको ७९ औँ मिनेटमा बंगलादेशका गोलकिपर अइनसुर रहमान जिकोले रातो कार्ड पाएपछि नेपालले थप राहत पाएको थियो । तर, बराबरी गोलका लागि नेपालले ८८ औँ मिनेटसम्म पर्खनुपरेको थियो । नेपालले पाएको पेनाल्टीलाई अन्जन विष्टले गोलमा परिणत गर्दै खेल बराबरी गरे । 


त्यसपछि कुनै गोल हुन नसकेपछि नेपालले फाइनलमा स्थान बनाउन सफल भएको हो । अब भारत र माल्दिभ्सबीचको खेलले दोस्रो फाइनलिस्ट को हुने तय गर्नेछ । माल्दिभ्सको ६ तथा भारतको ५ अंक रहेको छ । माल्दिभ्सले बराबरी मात्र खेले फाइनलमा पुग्नेछ भने भारतले भने खेल जित्नै पर्ने दबाब छ । बंगलादेश ५ अंक बटुल्दै प्रतियोगिताबाट बाहिरिएको छ ।