जेठ ६, २०८३ बुधबार

पाटन (ललितपुर), ६ जेठः ललितपुर महानगरपालिका र ललितपुर उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा भएको स्थानीय सरकारको राजस्वसम्बन्धी अन्तरक्रियामा धारणा राख्ने वक्ताहरूले आत्मनिर्भर अर्थतन्त्र तयार गर्न उद्योगी व्यवसायीहरुबीच सहकार्य हुनुपर्छ भन्नेमा जोड दिएका छन् ।

अन्तरक्रियामा सहभागीहरुले राखेका जिज्ञासा र चासोहरुलाई सम्बोधन गर्नुहुँदै ललितपुर महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले व्यवसायीसँग करको मात्रै आश गर्नेभन्दा पनि रोजगारीको अवसर सिर्जना गरेर आत्मनिर्भर अर्थतन्त्र तयार गर्न समन्वय र सहकार्य गर्नुपर्ने बताएका छन् । 

“उद्यमी व्यवसायीप्रति हामीले सम्मान गर्नुपर्छ, व्यवसाय र व्यवसायीहरुको संरक्षण र सम्मानयोग्य वातावरण तयार गर्न महानगरले ध्यान दिन्छ, दुई तीन वर्षदेखि उद्यमी व्यवसायीका समस्या सुन्दै आएका छौँ, राष्ट्रिय पुँजी पलायन हुने वातावरणलाई अन्त्य गर्न हामीले प्रभावकारी अर्थनीति आवश्यक छ”, उहाँले भन्नुभयो ।

उपप्रमुख बज्राचार्यले करको दायरालाई व्यवस्थापन गर्नेगरी नीतिगत व्यवस्था गराउन व्यवसायीहरुले नै जोड दिनुपर्ने बताउनुभयो । “सबै क्षेत्रका समस्या समाधान गर्न हामी लागिपर्छाैँ, अहिले उद्योग व्यवसायको अवस्था ठीक छैन, व्यवसायीहरु मारमा परेका छन्, पुँजी, भूमि, श्रम र समयको लगानी गरेर गरेको व्यवसायलाई सफल बनाउन हामीले जोड दिनुपर्छ, सङ्घीय सरकारका कारण समाधान नभएको कुरामा स्थानीय सरकारले गर्न सक्दैन, स्थानीय सरकारको अधिकार क्षेत्रभित्र भएका व्यवस्थालाई सहज बनाएर दिन मिल्नेसम्म छुट दिएर सहजीकरण गर्छौं”, उहाँले भन्नुभयो ।

पार्किङलाई व्यवस्थापन गर्ने र पार्किङ व्यवसायलाई पनि व्यवस्थापन गर्नेतर्फ महानगरले  जोड दिएको उल्लेख गर्दै उपप्रमुख बज्राचार्यले खाली ठाउँलाई पार्किङ बनाउन प्रयास गरिरहेको बताउनुभयो । उहाँले यस वर्षको नीति तथा कार्यक्रममा राखेर फुटपाथ व्यवसायलाई व्यवस्थापन गर्न जोड दिइने बताउनुभयो । 

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले स्थानीय सरकारको कर सङ्कलनलाई एकद्वार प्रणालीमा व्यवस्थापन गरिनुपर्छ भन्नुभयो । “नेपालमा नागरिकले  सामान्य प्रतिशत कर पनि सहजै निर्न नसक्ने वातावरण किन हुँदैछ भनेर सोच्नुपर्छ, नागरिकले सहज रुपमा कर तिर्न आउने र तिर्न सक्ने वातावरण बनाउनुपर्छ”, उहाँले भन्नुभयो ।

अर्थविद् प्रा डा चन्द्रमणि अधिकारीले राजस्व सङ्कलनमा स्थानीय तहले करदातालाई सहुलियत र सुविधा दिएर सङ्कलन गर्ने नीति लिनुपर्ने धारणा राख्नुभयो । उहाँले करको दरलाई समायोजन, सङ्ख्यालाई न्यूनीकरण गरेर दायरालाई फराकिलो बनाउँदै सहज रुपमा कर तिर्न सक्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले व्यवसाय राम्रोसँग फस्टाउँदा मात्रै कर तिर्नेहरुको सङ्ख्या वृद्धि हुने भन्दै यसका लागि अध्ययन गरेर नीतिगत व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो ।

ललितपुर महानगरपालिकाको राजस्व परामर्श समितिका निर्देशक सहजीत राईले महानगरमा एक लाख २२ हजार २६७ करदाता रहेकामा गत वर्ष ५१ हजार ७३३ करदाताले कर तिरेको र १२ हजार ९४२ करदाताले नियमित कर तिर्ने गरेको जानकारी दिनुभयो । उहाँले स्थानीय राजस्व प्रवद्र्धनमा ललितपुर उद्योग वाणिज्य सङ्घको महत्त्वपूर्ण योगदान रहँदै आएको जानकारी गराउनुभयो ।

महानगरको राजस्व महाशाखाका प्रमुख तिलकबहादुर थापाले चालु आवको वैशाख मसान्तसम्म उठेको राजस्व गत आवको वैशाख मसान्तसम्मको भन्दा २८ प्रतिशतले बढी रहेको भन्दै राजस्व प्रवद्र्धनका लागि उद्योगी, व्यवसायी र स्थानीय करदातासमेतको सहयोग आवश्यक हुने बताउनुभयो । 

उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वराज बज्राचार्यले हामी समाज र समुदायमा व्यापार व्यवसाय र धर्म संस्कृति सँगसँगै जोडिएर आउने भन्दै व्यापारका साथै निजी क्षेत्रले सेवाको काम पनि गरिरहेकोले निजी क्षेत्रलाई राज्यले सम्मानपूर्ण व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले ८० प्रतिशत राजस्व व्यापार व्यवसायबाट सङ्कलन हुने धारणा राख्नुभयो ।

उद्योग वाणिज्य सङ्घका राजस्व समितिका संयोजक पूर्णबहादुर महर्जनले महानगरले उद्योगी व्यवसायीहरुलाई विकासका साझेदारका रुपमा हेर्दै समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।