कास्की, ६ जेठः पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा बनेका संरचना खाली गर्ने तयारी गरेको छ ।
यसअघि गत वैशाख ३ गते अतिक्रमण गरी बनाइएका संरचना हटाउनका लागि ३५ दिनको सूचना जारी गरेको महानगरले आज पुनः बसपार्कमा बसोबास गरिरहेका सुकुमवासीलाई आफ्नो विवरण तीन दिनभित्र महानगरमा दर्ता गर्न भनेको छ । महानगरले संरचना हटाउन दिएको ३५ दिनको समयसीमा यही जेठ ८ गते सकिँदैछ । महानगरले सोही समयभित्र बसपार्कस्थित जग्गामा बसोबास गरिरहेका सबै भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीलाई विवरण पेस गर्न सूचना सार्वजनिक गरेको हो ।
महानगर प्रमुख धनराज आचार्यले वास्तविक सुकुमवासी पहिचानका लागि महानगरपालिकाबाट वितरण गरिएको निस्साको प्रतिलिपि, घरमूली र परिवारका सदस्यसहितको विवरण माग गरिएको बताउनुभयो । महानगरले सुुकुमवासीसँग माग गरेको विवरणमा घरमूलीसहित परिवारका सदस्यहरुको नामथर, पेसा, शैक्षिक योग्यता र दक्षता, अशक्त, असहाय, वृद्ध वा सुत्केरी र सम्पर्क नम्बर रहेको छ ।
“वास्तविक सुकुमवासीको पहिचानको काम भइरहेको छ । बसपार्क निर्माणका लागि सर्वदलिय, सर्वपक्षीय र सरोकारवाला सबैबाट सहयोगको प्रतिबद्धता आएको छ । स्वयं सुकुमवासीहरुले समेत बसपार्क बनाउनका लागि सहयोग गर्छौं भन्नुभएको छ । वास्तविक सुकुमवासीको व्यवस्थापनका लागि अहिले विवरण सङ्कलनको काम सुरु भएको हो”, प्रमुख आचार्यले भन्नुभयो ।
पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणका लागि पाँच दशकअघि जमिन छुट्टाइएको थियो । विसं २०३२ मा पृथ्वीचोकमा २०५ रोपनी जग्गामा बसपार्क बनाउने योजना अघि सारिएको थियो । बसपार्कका लागि जमिन छुट्टाएको ५० वर्षसम्म काम नहुँदा २०५ रोपनी जमिन अहिले आएर २६ रोपनीमा खुम्चिएको छ । बसपार्कको जग्गामा ठूलो सङ्ख्यामा सुकुमवासी छन् । पोखरा महानगरपालिकाले गरेको अध्ययनअनुसार बसपार्कको जमिनमा ४०० बढी सुकुमवासी परिवार बस्दै आएका छन् ।
भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार सङ्घर्ष समिति कास्कीका संयोजक प्रेमबहादुर गुरुङ महानगरले छानबिन गरेर वास्तविक सुुकुम्वासीलाई उचित व्यवस्थापन गर्नुपर्ने बताउनुहुन्छ । “हामीलाई उपयुक्त वैकल्पिक अवस्था पहिला महानगरले गरोस् र अनि बल्ल बसपार्कका लागि छुट्टाइएको सम्पूर्ण जग्गामा बसपार्क बन्नुपर्दछ । त्यसका लागि सुकुमवासी बाधक बन्दैनौँ”, उहाँले भन्नुभयो ।