महेन्द्रनगर (धनुषा), १२ जेठः मधेस प्रदेशका प्रदेश प्रमुख डा सुरेन्द्रलाभ कर्णले प्रदेश जनलोकपाल आयोगका नवनियुक्त सदस्यद्वय सञ्जीवकुमार झा र कुमारी सुजाता विमललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
जनकपुरधामस्थित प्रदेश प्रमुख कार्यालयमा आज आयोजित कार्यक्रममा प्रदेश प्रमुख डा कर्णले नवनियुक्त सदस्यद्वयलाई शपथ गराउनुभएको हो । प्रदेश जनलोकपाल ऐन, २०७७ को दफा २३ को उपदफा (२) बमोजिम गठित समितिको जेठ ६ गतेको सिफारिसअनुसार प्रदेश प्रमुखबाट आयोगको सदस्य पदमा नियुक्त उहाँहरूलाई शपथ ग्रहण गराइएको जनाइएको छ ।
शपथ ग्रहण कार्यक्रममा प्रदेश जनलोकपाल आयोगका अध्यक्ष रामसहायराय यादव, आयोगका सचिव डा विरेन्द्रकुमार मिश्र तथा प्रदेश प्रमुख कार्यालयका सचिव नारायणप्रसाद दाहाललगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमपछि संक्षिप्त मन्तव्य व्यक्त गर्दै सदस्य झाले आयोगप्रति नागरिकको विश्वास अभिवृद्धि हुनेगरी निष्पक्ष, पारदर्शी र जनउत्तरदायी ढङ्गबाट काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सुशासन प्रवर्द्धन तथा जनगुनासो सम्बोधनलाई प्राथमिकतामा राखेर कार्य गर्ने बताउनुभयो ।
त्यसैगरी सदस्य विमलले आयोगलाई नागरिकमैत्री संस्थाका रूपमा स्थापित गर्न आफ्नो भूमिका सक्रिय रहने बताउनुभयो । उहाँले सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता र सुशासन कायम गर्न आयोगले प्रभावकारी भूमिका निर्वाह गर्ने विचार व्यक्त गर्नुभयो ।