महेन्द्रनगर, १२ जेठः नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाले यस वर्ष ‘सशक्त पत्रकारिता सम्मान–२०८३ बाट पत्रकार शेरबहादुर सिंहलाई सम्मान गरेको छ ।
महासङ्घको २२औँ वार्षिक साधारणसभामा राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत पत्रकार सिंहले जनमुखी पत्रकारितामार्फत समाजमा पु¥याएको योगदानको उच्च कदर गर्दै सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले सो सम्मान प्रदान गर्नुभएको हो ।
कार्यक्रममा मन्त्री सार्कीले राससकर्मी सिंहसहित पत्रकार महासङ्घका पूर्वअध्यक्ष तथा आधा दर्जन पत्रकार सम्मान गरिएको नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाका सचिव कुन्दनराज पाण्डेयले जानकारी दिनुभयो ।
कार्यक्रमको उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले पत्रकारिताका माध्यमबाट हरेक तहका सरकारलाई सञ्चारजगत्ले सजक र सचेत गराउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाका अध्यक्ष सुरेश सिंह धामीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश मन्त्री सार्कीका साथै सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाश रावल, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहरा, नेपाल पत्रकार महासङ्घका प्रदेश अध्यक्ष भरत शाह लगायतको सहभागितो थियो ।