जेठ १२, २०८३ मंगलबार

भक्तपुर, १२ जेठः भक्तपुरको दक्षिण भेगमा रहेको दधिकोट तर्खगालबाट मध्यपुरथिमिसम्म सार्वजनिक बस सेवाका रूपमा २५ वटा विद्युतीय माइक्रोबस सेवा सञ्चालनमा ल्याइएको छ । 

    यसअघि सार्वजनिक यातायात पाउन निकै सास्ती हुँदा थिमि वा सूर्यविनायकसम्म हिँडेरै जानुपर्ने वाध्यता थियो । 

    चखुँतीर्थ दधिकोट यातायात प्रालिले आजदेखि विद्युतीय माइक्रो बस सेवा सञ्चालनमा ल्याएको हो । स्थानीय यात्रुहरूलाई सहज, सुलभ तथा वातावरणमैत्री सार्वजनिक यातायात सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा सुरु गरेको कम्पनीले जानकारी दिएको छ । 

    दधिकोटको तर्खगालबाट सञ्चालन भई न्यौपाने गाउँ, गाम्चा, चित्रपुर राजकुलो, बालकोट पानी ट्याङ्की, ल कलेज हुँदै थिमिसम्म पुग्ने र सोही रुट भएर फर्किने गरी सेवा सञ्चालन भएको हो । 

    स्थानीयवासीले लामो समयदेखि दधिकोट क्षेत्रबाट सहज र नियमित सार्वजनिक यातायात सेवाको माग गर्दै आएका थिए । कम्पनीले दधिकोटबाट ठिमी हँुदै सिधै काठमाडौँ रत्नपार्कसम्म नियमित सेवा सञ्चालनका लागि विस्तार गर्नका लागि अनुमति माग भइरहेको र अनुमति पाएलगत्तै रत्नपार्कसम्म सिधै सेवा सञ्चालन गरिने जानकारी दिएको छ ।