जेठ १३, २०८३ बुधबार

पर्वत, १३ जेठः  प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल कालाञ्जर पहाडमा रु एक करोडको लागतमा  अतिथि गृह भवन निर्माण गरिएको छ । 

    कालाञ्जर पहाड समुन्द्री सतहदेखि तीन हजार ३०० मिटरको उचाइमा रहेको छ । पर्वत जिल्लाको सबैभन्दा उचाइमा रहेको उक्त स्थानमा अध्ययन, अबलोकन र घुम्नका लागि आउने पर्यटकलाई लक्षित गरी उक्त अतिथि गृह भवन निर्माण गरिएको जलजला गाउँपालिकाले जनाएको छ । 
 
    जलजला गाउँपलिकाको लगानीमा निर्माण भएको सो भवनबाट हिमशृङ्खला, सूर्योदय, सूर्यास्त र मनोरम पहाडी भूगोल, धौलागिरि, अन्नपूर्ण, नीलगिरि, गुर्जा, पुथा, माछापुच्छ«े, मनास्लुलगायत १६ भन्दा बढी हिमालका साथै पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मी, पाल्पा, गोरखा, तनहुँ र लमजुङसम्मको भूगोल अवलोकन गर्न सकिन्छ । 

    कालाञ्जर र हम्पाल क्षेत्रमा  नीरमसी, पाँचऔँलो सतुवालगायत बहुमूल्य जडीबुटी प्रशस्त पाइने जलजला क्षेत्रको जङ्गलमा कालो वर्णको मृग, घोरल, चितुवा, भालु, डाँफे, मुनाल, कालिजलगायत पशुपक्षीको बसोबास रहेको छ । 

    कालाञ्जर, हम्पाल र जलजला क्षेत्रको एकीकृत विकासका लागि मोदी गाउँपालिका र जलजला गाउँपालिकाले प्रदेश तथा सङ्घीय सरकारसँगको सहकार्यमा करोडाँै लगानी गरिसकेको मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले जानकारी दिनुभयो ।