असोज २३, २०८३ शुक्रबार

फाइल फाेटाे

काठमाडौँ, २३ असोजः टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टिवान)ले पर्यटन क्षेत्रलाई व्यवस्थित, सुरक्षित र पर्यटकमैत्री बनाउन पर्यटक बसपार्क निर्माणको कामलाई प्राथमिकतामा राख्न सरकारसँग माग गरेको छ ।

टिवानको १५ औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनका अवसरमा आज आयोजित कार्यक्रममा अध्यक्ष भीष्म न्यौपानेले पर्यटन बसपार्क निर्माणको विषयलाई वर्षौंदेखि उठाउँदै आए पनि अपेक्षाअनुसार कार्यान्वयन हुन नसकेको बताउनुभयो ।

न्यौपानेले पर्यटन बसपार्क केवल बस पार्किङ गर्ने स्थान मात्र नभई नेपालको पर्यटन व्यवस्थापन, पर्यटकको सुविधा तथा सुरक्षा र समग्र पर्यटन क्षेत्रको प्रतिष्ठासँग जोडिएको महत्वपूर्ण पूर्वाधार भएको उल्लेख गर्नुभयो ।

नेपाल भ्रमणमा आउने पर्यटकले विमानस्थलबाट गन्तव्यसम्म पुग्नेदेखि देशका विभिन्न पर्यटकीय स्थलको भ्रमण गर्दासम्म सहज, सुरक्षित, भरपर्दो र आरामदायी यातायात सेवा पाउनुपर्ने उहाँको भनाइ थियो ।

पर्यटन क्षेत्रको विकासमा यातायातको भूमिका महत्वपूर्ण भए पनि व्यवस्थित पर्यटन बस टर्मिनलको अभावमा व्यवसायी तथा पर्यटक दुवैले विभिन्न समस्या भोग्नुपरेको उहाँले बताउनुभयो ।

“पर्यटन बसपार्क निर्माणको विषयलाई अब आश्वासनमा मात्र सीमित नराखौँ, यसलाई प्राथमिकतामा राखेर आवश्यक निर्णय गरौँ र कार्यान्वयनको दिशामा ठोस रूपमा अघि बढौँ,” अध्यक्ष न्यौपानेले बताउनुभयो ।

पर्यटन यातायात क्षेत्रको विकासका लागि व्यवसायीको एकल प्रयास पर्याप्त नहुने भन्दै सरकार, नेपाल पर्यटन बोर्ड, पर्यटन तथा यातायात व्यवसायी, श्रमिक र अन्य सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य र समन्वय आवश्यक रहेको एसोसिएसनले जनाएको छ ।

    काठमाडौँ–ल्हासा, नेपाल–भारतका प्रमुख सहर तथा सीमादेखि सीमासम्म पर्यटक बस सेवा सञ्चालनजस्ता अवधारणालाई सम्भाव्यता अध्ययनका आधारमा चरणबद्ध रूपमा अघि बढाउनुपर्ने धारण पर्यटन व्यवसायीले राखेका छन् ।  

एसोसिएसनका महासचिव प्रकाशचन्द्र अधिकारीले पर्यटन यातायात पूर्वाधारको विकास, पर्यटकको सहज आवागमन, पर्यटन बसपार्क निर्माण तथा व्यवसायीले भोग्दै आएका विविध समस्याको समाधानमा सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।

एसोसिएसनका कोषाध्यक्ष चिरञ्जीवी गिरीले पर्यटक बसपार्क निर्माण नहुँदा व्यवसायीले ठूलो समस्या भोग्नुपरेको बताउनुभयो । कार्यक्रममा श्रीकान्त आचार्य, पूर्वअध्यक्ष प्रह्लाद लोहनी, ईश्वर शर्मा, कृष्ण आचार्यलगायतको सहभागिता थियो ।रासस