मुस्ताङ, १३ जेठः उपल्लो मुस्ताङस्थित बारागुङ मुक्तिक्षेत्र–३ स्थित समर गाउँ नजिकै अवस्थित मानव निर्मित ऐतिहासिक गुफा र गिद्ध अवलोकन केन्द्र पर्यटकको पर्खाईमा छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङले पछिल्लो समय यहाँको गुफा र गिद्ध अवलोकन गर्न मिल्ने ठाउँलाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पहल गरेको छ ।
समरको माथिल्लो गाउँबाट करिब ९०० मिटर दूरी पैदल हिँडेर २० मिनेटमै सजिलै पुग्न सकिने सयौँ वर्ष पुरानो मानव निर्मित तीन तले समर गुफालाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न खोजिएको एक्याप लोमान्थाङ प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो ।
ठिङ्ग उभिएको अजङ्गको विशाल पहाडमा अवस्थित तीन तलाको समर गुफाभित्र १५ कोठा छन् । सयौँ वर्ष पहिले यहाँको गुफाभित्र मानिस आश्रय लिएर बस्ने गरेको त्यहाँको वस्तुस्थितिले झल्काउँछ ।
विशाल पहाडमा चट्टान खोपेर निर्माण गरिएको गुफाभित्र खाने बस्ने गर्दा धुवाँका दाग देखिन्छ । तर, गुफाभित्र कुनै ध्यान साधना गरेका तथ्य फेला पर्न सकेको छैन ।
गुफा रहेको पहाड जमिनको सतहदेखि करिब १२ मिटर माथिबाट चट्टान खोपेर निर्माण गरिएको छ ।
हालसम्म गुमनाम जस्तै रहेको समर गुफालाई पर्यटनसँग जोड्ने गरी गत वर्ष समर गाउँबाट गुफासम्मको ९०० मिटर दूरीमा पदमार्ग मर्मत सुधार तथा स्तरोन्नति गरिएको छ ।
यसैगरी, चालु वर्ष समर गुफा चढ्ने स्थानको वरिपरि फलामे रेलिङ बारले घेरिएको छ भने गुफा जानका लागि करिब १२ मिटर अग्लो फलामे भञ्ज्याङ चढ्ने व्यवस्था गरिएको एक्याप प्रमुख पौडेलले जानकारी दिनुभयो ।
यसैगरी एक्यापले यहाँको समर गाउँ नजिकै रहेको मानव निर्मित ऐतिहासिक गुफाबाट करिब डेढ किलोमटर पर गिद्ध अवलोकन केन्द्र स्थापना गरेको छ ।
गुफा अवलोकन गर्न आएका पर्यटकले बिहान र सूर्यास्तपछि गिद्धको सहजै अवलोकन गर्न सकिने प्रमुख पौडेलले जानकारी दिनुभयो ।
गिद्धहरुको अवलोकन र गिद्धसम्बन्धी अध्ययन अनुसन्धानका लागि उक्त स्थान महत्वपूर्ण पर्यटक केन्द्रका रुपमा विकास गर्न सकिने सम्भावना छ ।
समर गाउँबाट गुफा र गिद्ध अवलोकन गरी सकिएपछि समर गाउँसम्म आउन करिब डेढ किलोमिटर दूरी रहेको छ ।
एक्याप लोमान्थाङले समर गाउँमा अवस्थित गुफा र गिद्ध अवलोकन केन्द्रमा जान पदमार्ग निर्माण गरेको छ ।
एक्यापले ओझेलमा परेका पर्यटकीय गन्तव्यको खोजी गर्दै पर्यटन विकासमा टेवा पु¥याउन समर गाउँ नजिकैको गुफा र गिद्ध अवलोकन केन्द्रलाई व्यवस्थापन कार्यमा जोड दिएको हो ।