लुम्बिनी, १३ जेठः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अघिल्ला सरकारले अघि सारेका विकास कार्यक्रमलाई बीचमै नछोडी निरन्तरता दिनु वर्तमान सरकारको दायित्व भएको बताउनुभएको छ ।
लुम्बिनी प्रदेशसभाको आजको आठौँ बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रममा छुटेका विषयहरूलाई आगामी बजेटमार्फत समेटिने स्पष्ट पार्नुभयो । “सरकार अविछिन्न उत्तराधिकारी हो । अघिल्लो सरकारले अगाडि सारेका कार्यक्रमलाई सम्पन्न नगरी बीचमै छाड्नु राम्रो कुरा होइन”, उहाँले भन्नुभयो, “स्थापनाकालदेखि सञ्चालनमा रहेका धेरै कार्यक्रमलाई निरन्तरताका साथ अघि बढाएका छौँ । नयाँ सोच र दृष्टिकोणका कार्यक्रम पनि समावेश गरेका छौँ ।”
उहाँले लुम्बिनी प्रदेशको समृद्धि, आर्थिक उन्नति र नागरिकको जीवनस्तर सुधारलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम ल्याइएको उल्लेख गर्दै सभामा प्रस्तुत गरिएका कार्यक्रम बजेटमार्फत कार्यान्वयन गरिने विश्वास दिलाउनुभयो ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले स्थापनाकालदेखि अघि सारेका नीति तथा कार्यक्रमले अहिले भुइँतहमा सकारात्मक परिणाम दिन थालेको बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ मा लुम्बिनी प्रदेशको कूल गार्हस्थ्य उत्पादन रु नौ खर्ब ३६ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय कूल गार्हस्थ्य उत्पादनमा प्रदेशको योगदान १४ दशमलव दुई प्रतिशत रहने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो ।
प्रदेश स्थापना भएदेखि हालसम्म रु तीन खर्ब तीन अर्ब ८४ करोड बजेट विनियोजन गरिएको र त्यसमध्ये रु दुई खर्ब चार अर्ब ८९ करोड खर्च भएको उहाँले बताउनुभयो । चालु आवको वैशाख मसान्तसम्म ४० प्रतिशत वित्तीय प्रगति हासिल भएको र यो अन्य प्रदेशको तुलनामा उच्च रहेको उहाँको भनाइ छ ।
खानेपानी क्षेत्रमा तीन हजार ७९१ वटा प्रणाली सञ्चालनमा आएको, १६ लाखभन्दा बढी नागरिक लाभान्वित भएको तथा दुई लाख ७७ हजारभन्दा बढी धारा जडान गरिएको जानकारी उहाँले दिनुभयो । आगामी वर्ष ८० प्रतिशतभन्दा बढी प्रगति भएका सबै खानेपानी आयोजना सम्पन्न गरिने उहाँले बताउनुभयो ।
सडक पूर्वाधारतर्फ हालसम्म ७७० किलोमिटर नयाँ ट्र्याक खोलिएको, एक हजार ३६३ किलोमिटर सडक कालोपत्रे गरिएको तथा २०६ वटा सडक पुल र ७० वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको मुख्यमन्त्री आचार्यले जानकारी दिनुभयो ।
कृषि क्षेत्रमा ३३ वटा खाद्यान्न बीउ भण्डारण गृह, १७ वटा शीतभण्डार र १०२ वटा बजार पूर्वाधार निर्माण गरिएको उल्लेख गर्दै उहाँले आठ हजारभन्दा बढी साना सिँचाइ आयोजना सम्पन्न हुँदा छ हजार ४० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको बताउनुभयो । स्वास्थ्य क्षेत्रमा नवजात शिशु मृत्युदर प्रतिहजार २२ बाट घटेर १६ मा झरेको तथा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ४० बाट घटेर २९ मा पुगेको जानकारी उहाँले दिनुभयो ।
शिक्षा क्षेत्रमा लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको, स्मार्ट विद्यालय, नमूना विद्यालय तथा छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएका कारण विद्यालय उपस्थितिदर ९१ प्रतिशतभन्दा माथि पुगेको उहाँले बताउनुभयो ।
वन तथा वातावरण क्षेत्रमा ९१८ हेक्टरमा वृक्षरोपण, ९९ लाख बिरुवा उत्पादन तथा वितरण गरिएको जानकारी दिँदै उहाँले ऊर्जा क्षेत्रमा ९८ प्रतिशत जनसङ्ख्यामा विद्युत् पहुँच पुगेको जानकारी दिनुभयो । उद्योग तथा पर्यटन क्षेत्रमा छ हजारभन्दा बढी उद्योग र तीन हजारभन्दा बढी वाणिज्य फर्म दर्ता भएको तथा रु १९ अर्ब बराबरको लगानी भित्रिएको जानकारी उहाँले दिनुभयो ।
मुख्यमन्त्री आचार्यले आगामी बजेटमा आयोजना बैंकमा समावेश भएका योजना मात्रै समेटिने स्पष्ट पार्दै विकास बजेट छर्ने प्रवृत्ति अन्त्य गरिने बताउनुभयो । गौरवका आयोजना, बहुवर्षीय योजना, रणनीतिक सडक तथा उत्पादनमुखी क्षेत्रमा बजेट केन्द्रित गरिने उहाँको भनाइ थियो ।