जेठ १३, २०८३ बुधबार

गोरखा, १३ जेठः उत्तरी गोरखा विकट धार्चे गाउँपालिकाकी एक गम्भीर अवस्थाकी सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । धार्चे गाउँपालिका–२ केरौँजाकी सुत्केरी विमला विकलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौँ थापाथलीस्थित परोपकार प्रसूतिगृह पुर्‍याइएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

चौबीस वर्षकी विकलाई सुत्केरी हुँदाको गम्भीर बिरामी (इक्लामसिया) भएकाले उद्धार गरिएको सप्रजिअ शर्माले जानकारी दिनुभयो । विक १३ दिनअघि सुत्केरी हुनुभएको थियो । तर आज बिहान एक्कासि बिरामी भएर ढलेको र तत्काल सघन उपचारको खाँचो परेकाले उद्धार गर्नुपरेको धार्चे स्वास्थ्य शाखाका अमृत घलेले जानकारी दिनुभयो ।

“यो अवस्थामा तत्काल आइसियुमा राखेर उपचार नगरे ज्यान जाने जोखिम भएकाले दिउँसो २ः०० बजेतिर हेलिकोप्टरमा उद्धार गरी काठमाडौँ पु¥याइएको हो”, उहाँले भन्नुभयो, “अहिले सुत्केरीको अवस्था गम्भीर नै छ । केरौंजा स्वास्थ्यचौकीबाट एकजना स्वास्थ्यकर्मी र बिरामी कुरुवा पनि सोही हेलिकोप्टरमा पठाएका छौँ ।”