जेठ १५, २०८३ शुक्रबार

मङ्गलबारे, १५ जेठः नेपाल सबैभन्दा होचो भूमि केचना र दोस्रो अग्लो क्षेत्र कञ्चनजङ्घा क्षेत्रलाई समेटेर ‘केचना–कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट–२०८३’ गर्न लागिएको छ ।

    नेपालका पूर्वी जिल्ला पर्यटन विकास र विस्तारका हिसाबले अथाह सम्भावना बोकेको क्षेत्र भएकाले त्यस क्षेत्रमा पर्यटकहरुको बसाइ लम्याउन सामूहिक रुपमा नयाँ कार्यक्रमको अघि सारिएको हो । 

    केचनाको उचाइ सामूद्रिक सतहबाट ५८ मिटर र कञ्चनजङ्घाको उचाइ आठ हजार ५८६ मिटर रहेको छ । यस्तो एकीकृत कार्यक्रम अघि बढाइँदा नेपालको पूर्वी चार जिल्लाका पर्यटकीयस्थलको प्रचारप्रसार र एकीकृत कार्यक्रम सञ्चालन सहयोग पुग्ने अपेक्षा गरिएको छ । ती जिल्लामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी जेठ २३ र २४ गते त्यो कार्यक्रम गर्न लागिएको इलाम नगरपालिका नगर पर्यटन प्रवद्र्धन समितिका अर्जुन पोख्रेलको जानकारी दिनुभयो ।

    पर्यटनमा दिगो विकास, वातावरण संरक्षण तथा स्थानीय सांस्कृतिक र प्राकृतिक पहिचानलाई अन्तरराष्ट्रियस्तरमा उजागर गर्ने उद्देश्यसहित सामूहिक रुपमा कार्यक्रम तय भएपछि विभिन्न जिल्लामा प्रचारप्रसार अभियान सुरु गरिएको छ ।

    त्यस कार्यक्रमलाई पर्यटन प्रवद्र्धनको औपचारिक कार्यक्रम मात्र नभई दिगो विकाससँग जोडिनेछ । 

    कार्यक्रमलाई औपचारिक रुपमा उद्घाटन र समापनभन्दा पनि पर्यटन र समृद्धिलाई दिगोपना हुने गरी अघि बढाइनुपर्ने होटल व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष दिनेश खवासले बताउनुभयो ।

    कार्यक्रमका अवसरमा हुने पर्यटनकर्मी र सरोकारवालाबीच संवाद, सहकार्य तथा नवप्रवर्तनले पर्यटनमैत्री वातावरण सिर्जना हुने विश्वास गरिएको छ । 

    इलाम नगरपालिकाअन्तर्गतको नगर पर्यटन प्रवद्र्धन समिति, होटल एसोसएसन इलाम, इलाम उद्योग वाणिज्य सङ्घ, गाइड पोर्टर ड्राइभर क्लब एवम् पर्यटन कार्यालय काँकरभिट्टाबीचको समन्वयमा त्यो  कार्यक्रम हुन लागेको हो । 

    कार्यक्रम सफल बनाउन चारवटै जिल्लाका जनप्रतिनिधि लाग्नुपर्ने ताप्लेजुङस्थित फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनले बताउनुभयो । उहाँले एक्लै एक्लै हिँड्दाभन्दा पनि सँगै सहकार्य गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । त्यस सन्दर्भमा पहिचान भएका विभिन्न पर्यटकीयस्थलको अवलोकनसहितका कार्यक्रम सञ्चालन हुनेछ । त्यस क्रममा स्थानीय र पर्यटन व्यवसायीबीच छलफलका साथै स्थानीय परिकारका स्वाद चखाइने छ ।

    त्यस क्षेत्रका पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने विविध सांस्कृतिक झाँकीसहितको ¥यालीको आयोजनाका साथै हस्तकलाका सामग्री र तस्बिर प्रदर्शन गरिने छ ।

    त्यस कार्यक्रममा भारतका पर्यटन व्यवसायी र वातावरणविद् लगायतको सहभागिता रहनेछ ।