कात्तिक १, २०७८ सोमबार

कञ्चनपुर । खेतमा पाकेर थन्क्याउने वेला भएको धान बालीमा हिजो रातिदेखिको अविरल वर्षाका कारण क्षति पुगेपछि किसान चिन्तित भएका छन् । धानलाई वर्षाले झार्नुका साथै बोटसमेत ढलेको शुक्लाफाँटा नगरपालिका–७ का किसान शीतल धामीले बताए ।

“खेतैभरि पानी भरिएको छ”, उनले भने, “एकदुई दिनमै काटेर थन्क्याउने वेलाको धान पानीले सखाप पारिदियो” कतिपय किसानले धान काटिसकेका थिए । काटेको धान खेतमै थियो । खेतमा पानीको भल बगेपछि थन्क्याउन बाँकी रहेको धान बगेको पनि छ ।

जिल्लाको वेदकोट, महेन्द्रनगर, बेलौरीलगायतका ठाउँमा पनि धानबालीमा क्षति पुगेको किसानले बताएका छन् ।