चितवन, १७ जेठः बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सिमान्तकृत समुदायका जेहनदार विद्यार्थीलाई प्रदेश सरकारले छात्रवृत्ति दिएर चिकित्सा तथा इञ्जिनियरिङ शिक्षा पढाउने बताउनुभएको हो ।
नेपाल चिकित्सक सङ्घ केन्द्रीय समितिले आज यहाँ आयोजना गरेको अल नेपाल मेडिकल कन्फ्रेन्स ‘एनएमए कन २०२६’ को उद्घाटन कार्यक्रममा उहाँले बागमती प्रदेश सरकारले सिमान्तकृत समुदायका विपन्न विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा अध्ययन गर्ने वातावरण बनाउन लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस समुदायका विद्यार्थीले प्रवेश परीक्षामा नाम निकालेर आर्थिक अभावका कारण पढाइ रोकिँदैन ।”
चिकित्सकीय सेवा महत्वपूर्ण भएको भन्दै मुख्यमन्त्री बानियाँले चिकित्सक मानव रुपी भगवान् हुने भएकाले यस क्षेत्रमा सक्षम र दक्ष जनशक्ति उत्पादन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले इमानदार भई निरन्तर काममा खटिन चिकित्सकलाई आग्रह गर्नुभयो ।
सङ्घले पेसागत हकहितका लागि काम गरिरहेको भन्दै मुख्यमन्त्री बानियाँले प्रशंसा गर्नुभयो । बागमती प्रदेश सरकारले १३ जिल्लाका प्रदेशस्तरका अस्पतालमा आधुनिक उपकरण जडान गरी उच्चतम सेवा प्रवाह गर्ने योजना बनाइरहेको बताउँदै उहाँले यसमा सरोकार भएका निकायको साथ र समन्वयको आवश्यकता औँल्याउनुभयो । भक्तपुर अस्पतालमा ‘रोवटिक सर्जरी’ र हेटौँडामा ‘क्याथल्याब’समेत जडान गरी थप विशेषज्ञ सेवा दिन लागिएको मुख्यमन्त्री बानियाँले जानकारी दिनुभयो ।
बागमती प्रदेशका गरिबी सहरी विकासमन्त्री विनु रायमाझी र भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले स्वास्थ्य क्षेत्रको उन्ननयका लागि चिकित्सकले महत्वपूर्ण काम गरिरहेकाले उच्च प्रशंसा गर्नुभयो ।
डा अनिलविक्रम कार्की अध्यक्ष रहेको यसअघिको कार्यसमितिले आजै डा बद्री रिजालको नवनिर्वाचित कार्यसमितिलाई पद हन्तान्तरणसमेत गरेको थियो । पद हस्तान्तरणसँगै निर्वतमान अध्यक्ष कार्की, नवनिर्वाचित अध्यक्ष रिजाल, चिकित्सक सङ्घ चितवनका अध्यक्ष डा उमेश नेपाललगायतले चिकित्सकका समस्याका र समाधानका विषयमा आ-आफ्ना धारणा राख्नुभयो । सो अवसरमा सङ्घमा रहेर विभिन्न क्षेत्रबाट सहयोग पुर्याउनेलाई सम्मान एवं पुरस्कृत गरिएको थियो ।
शनिबारदेखि सुरु भएको सङ्घको आफ्नो ३०औँ सम्मेलन (कन्फ्रेन्स) बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा आज सकिँदै छ । कार्यक्रममा भारत र चीनसहित नेपालभरबाट ३५० जना सहभागी छन् । सम्मेलनमा प्राथमिक स्वास्थ्य सेवा सुधार, डिजिटल हेल्थ, ग्रामीण स्वास्थ्य पहुँच, स्वास्थ्य बिमा र मानव संशाधन व्यवस्थापन जस्ता विषयमा विशेष सत्रहरू सञ्चालन गरिएको थियो ।
हरेक दुई/दुई वर्षमा हुँदै आएको यो कार्यक्रम १२ वर्षयता तीन/तीन वर्षमा गर्न थालिएको हो । नेपालको स्वास्थ्य क्षेत्रमा देखिएका पहुँच, गुणस्तर र लागतसम्बन्धी चुनौतीलाई समाधान गर्न नवप्रवर्तनलाई केन्द्रमा राखेर छलफल गरिएको छ । सम्मेलनमा संविधानले प्रत्याभूत गरेको आधारभूत स्वास्थ्य अधिकारलाई कसरी सुदृढ बनाउने र स्वास्थ्य क्षेत्रमा विश्वका नयाँ प्रविधि र आविष्कारलाई कसरी जोड्ने भन्ने विषयमा केन्द्रित रहेर वैज्ञानिक प्रस्तुतीकरण गरिएको थियो ।