जेठ १८, २०८३ सोमबार

काठमाडौँ, १८ जेठः विभिन्न कार्यक्रमका साथ जापानको राजधानी टोकियोमा ‘सगरमाथा दिवस र पर्यटन प्रवद्र्धन कार्यक्रम’ सम्पन्न गरिएको छ ।

    नेपालको हिमाल, हिमाली क्षेत्र, पदयात्रा तथा नेपालको पर्यटनका बारेमा जानकारी दिने उद्देश्यले हालै आयोजित उक्त कार्यक्रममा जापानका विभिन्न टुर्स एन्ड ट्राभल एजेन्सीका प्रतिनिधि, जापानका पर्यटन क्षेत्रसँग सम्बन्धित संस्थाका प्रतिनिधि नेपाली समुदाय तथा राजदूतावासका पदाधिकारी एवं कर्मचारीको उपस्थिति रहेको टोकियोस्थित नेपाली दूतावासले जनाएको छ ।


    नेपाल र जापानको राष्ट्रिय गानहरूबाट सुरु गरिएको कार्यक्रममा कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले  विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालको गौरव, पहिचान तथा अन्तरराष्ट्रिय प्रतिष्ठाको प्रतीक भएको उल्लेख गर्दै नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक पर्यटन तथा धार्मिक पर्यटनकाबारे जानकारी दिनुभएको थियो ।

    कार्यक्रमका परराष्ट्रमन्त्री शिशिर खनालले सगरमाथा दिवसका उपलक्ष्यमा जारी गर्नुभएको भिडियो सन्देश सहभागीहरूमाझ प्रस्तुत गरिएको थियो ।

    कार्यक्रममा नेपालको सांस्कृतिक विविधता झल्काउने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।