महेन्द्रनगर (धनुषा), १८ जेठः मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले बढ्दो सवारी चाप व्यवस्थापन र सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी, प्रविधिमैत्री तथा जनउत्तरदायी बनाउनुपर्ने बताउनुभएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभागअन्तर्गत राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाको आयोजनामा तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाको सहआयोजनामा आज जनकपुरधाममा भएको ट्राफिक व्यवस्थापन समीक्षा गोष्ठीमा मन्त्री महतोले सडक सुरक्षा राज्यको साझा दायित्व भएको उल्लेख गर्नुभयो ।
उहाँले सडक दुर्घटनाबाट प्रत्येक वर्ष ठूलो मानवीय तथा आर्थिक क्षति भइरहेको भन्दै दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन, जनचेतनामूलक कार्यक्रम तथा आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । ट्राफिक व्यवस्थापनमा नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रदेश सरकार आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।
सो अवसरमा मधेस प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री शारदादेवी थापाले सुरक्षित यातायात प्रणाली निर्माणका लागि चालक, यातायात व्यवसायी, स्थानीय तह तथा सुरक्षा निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो । उहाँले ट्राफिक अनुशासन कायम गर्न जनचेतना अभिवृद्धिसँगै कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको धारणा राख्नुभयो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले सडक सुरक्षालाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वय र नियमित अनुगमन आवश्यक रहेको बताउनुभयो । उहाँले दुर्घटना न्यूनीकरणका लागि स्थानीय प्रशासनले सुरक्षा निकायसँग सहकार्य गर्दै आवश्यक पहल गरिरहेको जानकारी दिनुभयो ।
मधेस प्रदेश प्रहरी कार्यालयका नायब महानिरीक्षक गोविन्द थपलियाले प्रदेशका विभिन्न राजमार्ग तथा सहरी क्षेत्रमा ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउन प्रहरी सक्रिय रूपमा परिचालित रहेको बताउनुभयो । उहाँले सडक दुर्घटनाका प्रमुख कारणहरूको पहिचान गरी जोखिम न्यूनीकरणका लागि विशेष योजना कार्यान्वयन गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल प्रहरीका वरिष्ठ अधिकारी कमल थापाले ट्राफिक व्यवस्थापनमा देखिएका चुनौती, सम्भावना तथा सुधारका उपायबारे धारणा व्यक्त गर्नुभएको थियो ।
गोष्ठीमा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भुवनेश्वर तिवारीले ट्राफिक व्यवस्थापन, सडक दुर्घटनाको अवस्था, चुनौती तथा सुधारका प्रयाससम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत कार्यपत्रमा राजमार्ग क्षेत्रको सुरक्षा अवस्था, दुर्घटनाको तथ्याङ्क, ट्राफिक नियम कार्यान्वयनको अवस्था तथा आगामी रणनीतिबारे विस्तृत जानकारी समेटिएको थियो ।
सोही क्रममा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रहरी उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले प्रदेशका विभिन्न जिल्लामा सञ्चालन गरिएका ट्राफिक सचेतना कार्यक्रम, दुर्घटना न्यूनीकरणका लागि गरिएका प्रयास तथा भावी योजनाबारे जानकारी गराउनुभएको थियो । उहाँले ट्राफिक व्यवस्थापनलाई आधुनिक र प्रभावकारी बनाउन प्रविधिको प्रयोग, निगरानी प्रणालीको विस्तार तथा जनसहभागितामूलक कार्यक्रमलाई प्राथमिकता दिइएको बताउनुभयो ।
गोष्ठीमा सुरक्षा निकायका अधिकारी, विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका प्रतिनिधि, यातायात व्यवसायी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले सडक दुर्घटना न्यूनीकरण, सुरक्षित यातायात प्रणालीको विकास तथा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा सुझाव प्रस्तुत गरेका थिए ।