विराटनगर, १८ जेठः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय पुँजीको विकासका लागि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको छ ।
साथै उहाँले उद्यमी–व्यवसायीहरूलाई पर्यटन क्षेत्रमा लगानी गर्न उहाँले आग्रह गर्नभएको छ ।
ओरिएन्टल पब्लिकेशनद्वारा प्रकाशित ‘कोशीको गन्तव्य, अनुभव र सम्भावना’ पुस्तकको आज यहाँ लोकार्पण गर्दै उहाँले पर्यटन प्रवद्र्धनले मुलुकको समृद्धि, रोजगारी सिर्जना र गरिबी घटाउन सघाउने बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले पर्यटन पूर्वाधार विकासका लागि कम्तीमा १० वर्षसम्म निरन्तर रूपमा राज्यले लगानी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
ओरिएन्टल पब्लिकेशनका प्रबन्धक हरि गौतमले कोशी क्षेत्र अवसर, सम्भावना र चुनौतीको सङ्गम भएकाले यसको समग्र विकासमा जोड दिनुपर्ने बताउनुभयो ।
पुस्तकका लेखक वासुदेव बरालले आफ्नो सिर्जना पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्ति तथा संस्थाका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
साहित्यकार कृष्ण साह र सीमा आवासले पुस्तकको समीक्षा गर्दै कोशी प्रदेशको पर्यटनबारे जान्न चाहनेका निम्ति पुस्तक सङ्ग्रहणीय छ भन्नुभयो ।