जेठ २०, २०८३ बुधबार

काठमाडौँ, २० जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सङ्गठन सुदृढीकरणमा लाग्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ । 

एमालेको केन्द्रीय सङ्गठन विभागको आयोजनामा ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै उहाँले पार्टी एकता कायम गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष ओलीले सङ्गठनमा देखिएका चुनौतीको सामना गर्न सक्ने शक्ति बनाउने गरी एकताबद्ध भएर लाग्न आह्वान गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, “एमाले देश, शान्ति, विकास, समृद्धि र लोकतन्त्रप्रति समर्पित पार्टी हो । यसले आत्तिने र हरेश खाने काम गर्नु हुँदैन । आँधी चल्नेबित्तिकै ढलिहाल्ने हाम्रो पार्टी होइन ।” उहाँले प्रतिशोधको भावनामा कसैले पनि काम गर्न नहुने बताउनुभयो । 

आजको कार्यक्रमबाट पार्टीभित्रका भ्रम चिर्दै नयाँ विश्वास र जोशका साथ कार्यक्षेत्रमा परिचालित हुन सम्बद्ध सबैलाई अनुरोध गर्नुभयो ।

कार्यशालामा प्रदेश तथा जिल्ला इन्चार्ज (भारत प्रवाससमेत), प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी, कार्यालय सचिव, जिल्ला कमिटी अध्यक्ष, सङ्गठन विभाग प्रमुख तथा जनसङ्गठन केन्द्रीय कमिटीका अध्यक्ष र सङ्गठन विभाग प्रमुख सहभागी छन् ।