जेठ २०, २०८३ बुधबार

म्याग्दी, २० जेठः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बुधबार सम्पन्न दोस्रो अन्नपूर्ण हर्जोग दौड प्रतियोगितामा पुरुषतर्फ ताप्लेजुङका रमेश लिम्बु र महिलातर्फ डोल्पाकी सुनसरी रोका बिजयी हुनुभएको छ ।

छैहत्तरऔँ अन्नपूूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण गाउँपालिका–४ नम्बर वडा कार्यालयले आयोजना गरेको चार हजार १९० मिटर उचाइमा रहेको अन्नपूूर्ण आधार शिविरदेखि नारच्याङ ३१ दशमलव छ किलोमिटर दूरीमा दौड प्रतियोगिता भएको थियो । 

उपाधि विजेता लिम्बूले दुई घण्टा चार मिनेट र रोकाले दुई घण्टा ४७ मिनेट १६ सेकेन्डमा उक्त दूरी पूरा गरी उपाधि हासिल गरेको एथलेटिक्स सङ्घ गण्डकीका महासचिव मनबहादुर थापाले जानकारी दिनुभयो । 

उहाँका अनुसार पुरुषतर्फ मनकुमार रोका काठमाडौँले दुई घण्टा १६ मिनेट ११ सेकेन्डमा दूरी पार गरेर दोस्रो र दुई घण्टा २३ मिनेट १२ सेकेन्डमा दूरी पार गरेर अर्जुन कुलिङ सोलुखुम्बुले तेस्रो स्थान हासिल गर्नुभएको छ । 

महिलातर्फ पुष्पा शेरमा पाँचथरले दुईदुई घण्टा ५२ मिनेट सात सेकेन्डमा दूरी पार गरेर दोस्रो र निर्मला राई खोटाङले द्ई घण्टा ५३ मिनेट ३० सेकेन्डमा उक्त दूरी पार गरेर तेस्रो हुनुभएको छ ।

बिहान ६ः४५ मिनेटमा आधार शिविरदेखि सुरु भएको दौड पञ्चकुण्ड ताल, भुस्केटमेला, गुफाफाँट, साँधीखर्क, फुतफुते झरना, हुमखोला, छोटेपा हुँदै नारच्याङ गाउँ पुगेर समापन भएको थियो । 
  
प्रतियोगितामा प्रथम हुनेलाई रु एक लाख २५ हजार, दोस्रोलाई रु ७५ हजार, तेस्रोलाई रु ४३ हजार ७५० नगदसहित प्रमाणपत्र र सान्त्वना हुनेलाई रु १२ हजार ५०० का दरले नगद पुरस्कारसहित सम्मान गरिएको थियो । 

     प्रतियोगितामा पुरुषतर्फ लोकन्द्र राई सोलुखुम्बु, होमलाल श्रेष्ठ रामेछाप, सनम गुरुङ तनहुँ र महिलातर्फ सन्देभा बुढा जुम्ला, आशमा विक रोल्पा, भिमु बुढा जुम्लाले सन्त्वना पुरस्कार प्राप्त गर्नुभयो । 

गाउँपालिका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवा पुन तिलिजा, प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य र वडाध्यक्ष लोकबहादुर फगामीले नगद र प्रमाणपत्र प्रदान गर्नुभयो ।
 
पुरुषतर्फ १२ जना र महिलातर्फ नौ जना धावकको सहभागिता जनाएका अन्नपूूर्ण गाउँपालिका–४ का वडासदस्य श्याम पुर्जाले बताउनुभयो । उहाँका अनुसार नारच्याङको बेँसी गाउँदेखि सुरु हुने मौरिस हर्जोग पदमार्गलाई विश्वव्यापी रुपमा प्रचारप्रसार गर्ने उद्देश्यले दोस्रो अन्नपूर्ण हर्जोग दौड प्रतियोगिता आयोजना गरिएको हो ।