जेठ २१, २०८३ बिहिबार

विराटनगर, २१ जेठ  :  विराटनगर महानगरपालिकाले पूर्णखोप सुनिश्चितताको लक्ष्य हासिल गरेको छ ।

      पूर्णखोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै ० देखि ५९ महिनासम्मका ११ हजार ६३० जना बालबालिकालाई पूर्णखोपको पहुँचमा पुु¥याएपछि सो लक्ष्य हासिल भएको महानगरपालिका खोप शाखाले बताएको छ ।  

    महानगरपालिकाका अनुसार पूर्णखोप प्राप्त गर्ने बालबालिकामध्ये ० देखि ११ महिनाका दुई हजार १३९ जना, १२ देखि १५ महिनाका ९७७ जना, १६ देखि २३ महिनाका एक हजार ५४८ जना तथा २४ देखि ५९ महिनाका छ हजार ९६६ जना रहेका छन् । 

    यस उपलब्धिसँगै विराटनगरले बालबालिकालाई खोपबाट रोकथाम गर्न सकिने रोगविरुद्ध सुरक्षित बनाउने अभियानलाई थप संस्थागत र दिगो बनाएको  महानगरका वरिष्ठ जनस्वास्थय अधिकृत रमेश कार्कीले जानकारी दिनुभयो । 

    उहाँले  खोप अभियानले बालमृत्युदर घटाउन, रोगको जोखिम न्यूनीकरण गर्न तथा स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्नुभयो । 

    खोप संयोजक सुशील साहले  पूर्णखोप कार्यक्रमले बालबालिकालाई दादुरा, रुबेला, पोलियो, क्षयरोग, डिप्थेरिया, कालीखोकी, टिटानसलगायतका रोगबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ, भन्नुभयो ।  

     स्वास्थ्य महाशाखा प्रमुख डा दिलीपकुमार यादवले पूर्णखोप सुनिश्चितताको उपलब्धिलाई स्वास्थ्य क्षेत्रको महत्वपूर्ण सफलता हो भन्नुुभयो ।