धौलागिरी (म्याग्दी), २१ जेठः म्याग्दीमा २०औँ जातीय भेद्भाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस रक्तदान कार्यक्रम गरी मनाइएको छ । जिल्लास्थित संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिको आयोजनामा बेनीको वीरेन्द्रचोकमा आयोजित कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र बेनीले प्राविधिक सहयोग गरेको थियो भने बेनी नगरपालिका-७ को कार्यालयले आर्थिक सहयोग गरेको थियो । समितिका संयोजक पदम किसानले जातीय विभेद र छुवाछूतविरुद्ध सामाजिक चेतना अभिवृद्धि गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
“मानवताको सबैभन्दा ठूलो उदाहरण रक्तदान हो । जसले जात, धर्म, वर्ग वा समुदाय छुट्याउँदैन । यो जीवनदानको आधार पनि हो”, संयोजक किसानले भन्नुभयो । रगत सबैको सबैलाई चल्छ भन्ने सन्देश दिन कार्यक्रमको आयोजना गरिएको उहाँले उल्लेख गर्नुभयो ।
दलित अधिकारकर्मी लालु किसानले दलित समुदायमाथि हुने विभेद अन्त्यका लागि कानुनी व्यवस्था मात्र पर्याप्त नभई सामाजिक व्यवहारमा परिवर्तन आवश्यक रहेको धारणा राख्नुभयो । रक्तदान कार्यक्रमले सामाजिक सद्भाव र मानव एकताको सन्देश प्रवाह गरेको उहाँको भनाइ छ ।
विसं २०६३ जेठ २१ गते तत्कालीन संसद्ले नेपाललाई ‘जातीय छुवाछूतमुक्त राष्ट्र’ घोषणा गरेको थियो । सोही ऐतिहासिक घोषणाको स्मरणमा प्रत्येक वर्ष जेठ २१ गते जातीय भेद्भाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस मनाउन थालिएको हो ।
संविधानले सबै नागरिकलाई समान अधिकारको व्यवस्था गरेको तथा जातीय भेद्भाव र छुवाछूतलाई कानुनले निषेध गरे पनि समाजका विभिन्न क्षेत्रमा अझै विभेदका घटना हुने गरेका छन् । यस्ता कुरीति अन्त्य गर्दै समानता, सामाजिक न्याय र मानवअधिकारको सुनिश्चितता गर्ने उद्देश्यले यो दिवस देशभर विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै आइएको छ ।