जेठ २६, २०८३ मंगलबार

    महेन्द्रनगर (कञ्चनपुर), २६ जेठः सुदूरपश्चिमका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा  रेबिजविरुद्धको खोपको अभाव भएको छ । कुकुर, स्याल तथा अन्य जनावरको टोकाइपछि तत्काल लगाउनुपर्ने खोप सरकारी अस्पताल र स्थास्थ्य संस्थामा अभाव भएको दुई साता बितिसकेको छ ।

    सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले  सुदूरपश्चिममा निःशुल्क रूपमा सेवाग्राहीले उपलब्ध हुनुपर्ने खोप अभाव रहेको बताउनुभयो । तर, उहाँले निजी स्वास्थ्य संस्थामा भने खोपको बिक्रीवितरण भइरहेको बताउनुभयो ।

    त्यसैगरी, प्रदेश सामाजिक विकास मन्त्रालयले यहाँका स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र स्थानीय तहलाई पत्राचार गर्दै खोप व्यवस्थापन गर्न आग्रह गरेको छ । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाबाट निःशुल्क वितरण गरिने उक्त खोप आपूर्ति हुन नसकेको र अझै केही समय लाग्ने पत्रमा उल्लेख छ । 

    त्यस्तै गत जेठ १६ गते स्वास्थ्य सेवा विभागले खोप व्यवस्थापन गर्न प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय र स्थानीय तहलाई आग्रह गरको छ ।