कात्तिक ३, २०७८ बुधबार

कञ्चनपुर । नेपाल किसान संघ कञ्चनपुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई ४ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ । बुधवार नेपाल किसान संघ कञ्चनपुरका सभापति भैरव ऐर तथा केन्द्रीय सदस्य नारायणदत्त पन्तद्वारा हस्ताक्षरित ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयमार्फत प्रधानमन्त्रीलाई बुझाइएको हो ।

आश्विन ३१ गते रातिदेखि कार्तिक २ गते साँझसम्म परेको अविरल वर्षाका कारण किसानले लगाएको खेतमा पाकेर काटिसकेको र खडा धानवाली डुवान र बाढीले सखाप पारेको हुँदा तत्काल जिल्ला कृषि ज्ञान केन्द्रबाट अथवा अन्य कुनै पनि निकायबाट किसानको नोक्सानीको लागत तयार गरी उचित क्षतिपूर्तिको माग गरिएको छ ।

यस्तै किसानलाई उन्नत जातका विउविजन तथा रासायनिक मल सहुलियत र सुलभ तरिकाबाट अविलम्व उपलब्ध गराउनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । नेपाल किसान संघ कञ्चनपुरले अरू मानवीय क्षति हुन नदिनका निम्ति रोकथामका लागि आवश्यक उपाय अघि बढाउन आग्रह गरेको छ ।