कात्तिक ६, २०७८ शनिबार

चितवन । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरको आयोजनामा कार्तिक ८ देखि १२ गतेसम्म चितवनको रामपुरमा भैंसी सम्मेलन हुने भएको छ ।

भैंसीपालनको विकास र नयाँ प्रविधि तथा भैंसीसँग सम्बन्धित नयाँ आविष्कार घोषणा गर्न सम्मेलनको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष प्रा.डा. भूमिनन्दन देवकोटाले जानकारी दिए। साथै यसले वैज्ञानिकहरूबीच अन्तरसम्बन्ध विस्तार र खोजी भएका नयाँ सफलताको बाँडफाँडका लागि पनि मद्दत मिल्ने उनले जानकारी दिए ।

‘१०औं एसियन बफेलो कंग्रेस २०२१’ सम्मेलनमा १७ देशका प्रख्यात विज्ञहरूले १ सय ३५ भन्दा बढी कार्यपत्रहरू प्रस्तुत गर्नेछन् । विभिन्न सातवटा विधाका कार्यपत्र प्रस्तुत गरिने र त्यसमाथि ३ सय ५० जनाभन्दा बढी वैज्ञानिक, प्राध्यापक, कृषक विद्यार्थी तथा सम्बन्धित विषयका सरोकारवालाहरूले बहस गर्न सकिने व्यवस्था मिलाइएको छ ।

सम्मेलनबाट आएको नयाँ खोजलाई भैंसी पालक किसानसँग जोड्ने र यसले सरकारलाई नयाँ नीति निर्माण गर्न सहयोग पुग्ने विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीले बताए । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले उद्घाटन गर्ने उक्त सम्मेलनको नवौं सम्मेलन सन् २०१८ मा भारतमा भएको थियो ।

विश्वभर भैंसी उत्पादनका हिसाबले नेपाल चौथो र सङ्ख्याको हिसाबले छैटौं स्थानमा रहेको छ ।

अहिले नेपालमा करीब ५५ लाख भैंसी रहेको र देशमा हुने दूध उत्पादनको करीब ६५ प्रतिशत भैंसीले योगदान गरेको छ । मासुमा समेत ५५ प्रतिशत भैंसीको योगदान रहेको छ ।

नेपालमा लिमे, पारकोटे, गड्डी, तराई जात र मुर्रा प्रजातिका भैंसी छन् । पछिल्लो समय हाइब्रिडसमेत बनाएर भैंसी पालन हुँदै आएको छ ।