असार २८, २०८३ आइतबार

महेन्द्रनगर (धनुषा), २८ असारः जिल्लाका विभिन्न स्थानीय तहमा पछिल्लो समय चैते धानखेती गर्ने किसानको सङ्ख्यामा उल्लेख्य रूपमा बढ्न थालेको छ । प्रशस्त उत्पादन हुने, वर्षमा तीन बाली लिन सकिने तथा सरकारी र विकास साझेदार संस्थाको सहयोग उपलब्ध हुने भएपछि किसानहरू चैते धानखेतीतर्फ आकर्षित भएका हुन् ।

    यहाँको लक्ष्मीनियाँ गाउँपालिकाका किसान विल्टु साहका अनुसार एक कट्ठा जमिनमा तीनदेखि पाँच मनसम्म उत्पादन हुने भएकाले चैते धानखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । धनुषाका सुक्खा तथा बाढी प्रभावित दुई पालिकामा सङ्घीय सरकारले सञ्चालन गरेको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाअन्तर्गत चैते धान प्रवर्द्धन कार्यक्रम सञ्चालन भएपछि किसानको सहभागिता बढेको किसान भोला यादवले बताउनुभयो ।

    विश्व बैंक र विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रमको सहयोगमा यहाँका वटेश्वर र जनकनन्दनी गाउँपालिकाका साना तथा निम्न आय भएका किसानलाई उन्नत बीउ, आधुनिक खेती गर्न प्रविधि, सिँचाइका सामग्री तथा आवश्यक तालिम उपलब्ध गराइएपछि किसानले चैते धानखेती विस्तार गर्न थालेका स्थानीय दीपक यादवले जानकारी दिनुभयो ।

    किसान दीपेन्द्र महतोका अनुसार वर्षमा तीन बाली उत्पादन गर्न सकिने भएकाले वटेश्वरमा मात्र १४० बिघा क्षेत्रफलमा चैते धानखेती गरिएको छ । हर्दिनाथ–१, २ र ३ जातका चैते धानको बीउ ८५ प्रतिशत अनुदानमा उपलब्ध गराइएपछि गाउँका अधिकांश किसानले यो खेती सुरु गरेका किसान भाग्यचन्द्र महतोले बताउनुभयो । उहाँले समयमा बीउ, मल तथा सिँचाइको व्यवस्था भए मुलुकलाई धान, चामल तथा अन्य खाद्यान्नमा आत्मनिर्भर बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

    खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना समूह एकाइ धनुषाका कृषि अधिकृत शिवचन्द्र झाले यजिल्लाका दुई पालिकामा चैते धान प्रवर्द्धन कार्यक्रम सञ्चालन भएपछि किसान उत्साहित भई खेतीको क्षेत्र विस्तार हुँदै गएको बताउनुभयो । उहाँका अनुसार सो पालिकामा हाल करिब १५० बिघा क्षेत्रफलमा चैते धानखेती गरिएको छ ।

    आयोजनाका समूह एकाइ प्रमुख रविलाल शर्माले साना तथा निम्न आय भएका किसानको खाद्य सुरक्षा, पोषण सुधार, कृषि उत्पादन वृद्धि तथा बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले यसले किसानको आयआर्जन वृद्धि र कृषि उत्पादनमा आत्मनिर्भरताका लागि महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्नुभयो ।

    जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा ८५० हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएको छ । सो क्षेत्रबाट तीन  हजार ३३२ मेट्रिकटन उत्पादन भएको केन्द्रले जनाएको छ । प्रतिहेक्टर तीन दशमलव ९२ मेट्रिकटन औसत रूपमा उत्पादकत्व हासिल जनाउँदै केन्द्रका प्रमुख प्रदीपकुमार यादवले जिल्लामा चैते धानखेतीको क्षेत्र विस्तारसँगै उत्पादनमा उल्लेखनीय वृद्धि भएको बताउनुभयो ।

    कृषि ज्ञान केन्द्रले आगामी वर्षमा चैते धानखेती विस्तार गरी उत्पादन वृद्धि गर्न किसानलाई आवश्यक प्राविधिक सहयोग र प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको जनाएको छ ।