असार २, २०८३ मंगलबार

वीरगञ्ज (पर्सा), २ असारः जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषध गाजा ओसारपसारमा प्रयोग गरिएको सवारी साधनसहित उक्त कार्यमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ । 
    
    प्रहरीले सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका–२ बस्ने अन्दाजी ३० वर्षीय सुभास थामी (चालक) र सो ठाउँका २८ वर्षीय छत्रबहादुर धामीलाई आठ पोका (अन्दाजी १०९ केजी) लागुऔषध गाँजासहित पक्राउ गरेको जनाएको छ । 
    
    विशेष सूचनाका आधारमा आज दिउँसो वीरगञ्ज महानगरपालिका–२१ स्थित ड्राइपोर्ट परवानीपुर सडकखण्डमा जिल्ला प्रहरी कार्यालय मातहत इलाका प्रहरी कार्यालय पोखरिया तथा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा दिएको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो । 
    
पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको बा१९च ५७३८ नम्बरको बोलेरो पिकअप गाडी रोकी खानतलासी गर्दा उक्त गाडीको पछाडिको डब्बामा त्रिपालले छोपी प्लाष्टिकले बेरिएको ८ पोका अं १०९ केजी लागुऔषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरी दुई व्यक्तिलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतको भनाइ छ । 
---