असार २, २०८३ मंगलबार

नयाँदिल्ली, २ असार : गत महिना प्रश्नपत्र चुहावटको विवादपछि भारत सरकारले राष्ट्रव्यापी मेडिकल कलेज प्रवेश परीक्षा (एनइइटी) को पुनःपरीक्षा अघि मंगलबार टेलिग्राम मेसेन्जरको पहुँचमा प्रतिबन्ध लगाएको छ ।

    उच्च माध्यमिक परीक्षासम्बन्धी अंकन त्रुटि र अत्यधिक प्रतिस्पर्धात्मक परीक्षाहरूमा देखिएको अनियमितताले देशभरि आक्रोश बढाएको छ । युवाहरूले शिक्षा मन्त्रीको राजीनामा माग गर्दै विरोध प्रदर्शनसमेत गरेका छन् ।

    भारतको इलेक्ट्रोनिक्स मन्त्रालयले पुनःपरीक्षा सम्पन्न हुने दिनसम्म टेलिग्राममा पहुँच सीमित गर्ने आदेश जारी गरेको छ । साथै, प्रयोगकर्ताहरूलाई पहिलेका पोस्ट सम्पादन गर्न दिने सुविधा जुन ३० सम्मका लागि रोकिएको छ ।

    राष्ट्रिय परीक्षण एजेन्सी (एनटीए)ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उम्मेदवारहरूलाई ठगी गर्ने संगठित गिरोहहरूले प्लेटफर्मको दुरुपयोग गरेको पृष्ठभूमिमा सार्वजनिक हित र व्यवस्था कायम राख्न यी कदम चालिएका हुन् ।”

    ‘एनइइटी’ भारतको सबैभन्दा प्रतिस्पर्धात्मक परीक्षामध्ये एक हो, जसमा वार्षिक रूपमा २० लाखभन्दा बढी विद्यार्थी सहभागी हुन्छन् । मे महिनामा प्रश्नपत्र परीक्षा अघि नै चुहिएको आरोप लागेपछि परीक्षा रद्द गरिएको थियो । केही रिपोर्टअनुसार चुहिएको सामग्री टेलिग्राम च्यानलमार्फत प्रसारित गरिएको थियो ।

    प्रतिबन्धप्रति प्रतिक्रिया जनाउँदै टेलिग्रामका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत पावेल डुरोभले यो कदम प्रभावहीन भएको दाबी गर्नुभयो । सामाजिक सञ्जाल एक्समा उहाँले “यो प्रतिबन्धले परीक्षा सामग्री चुहाउने व्यक्तिलाई होइन, भारतका १५ करोड सामान्य प्रयोगकर्तालाई दण्डित गरेको छ । चुहावट अन्य एपहरूमा सरेको मात्र हो” लेख्नुभएको छ । 

    डिजिटल अधिकारसम्बन्धी संस्था इन्टरनेट फ्रिडम फाउन्डेसनले पनि प्रतिबन्धलाई “परीक्षा ठगीको समस्याप्रति असमान र अनुपयुक्त प्रतिक्रिया” भनेको छ ।

    भारतमा राष्ट्रिय स्तरका परीक्षामा सफल हुने तीव्र दबाबले हजारौं कोचिङ सेन्टरहरू भएको ठूलो उद्योगलाई जन्म दिएको छ । सीमित अवसर र कडा प्रतिस्पर्धाका कारण परीक्षासम्बन्धी आपराधिक गतिविधि तथा प्रश्नपत्र बेचबिखन गर्ने गिरोहहरू सक्रिय हुने गरेको बताइन्छ ।

    यसैबीच, भारतको केन्द्रीय अनुसन्धान ब्यूरो (सिबीआइ) ले प्रश्नपत्र चुहावट प्रकरणका कथित मुख्य योजनाकारलाई पक्राउ गरेको छ । उनलाई एनटीए को परीक्षा प्रक्रियासँग सम्बन्धित रसायनशास्त्रका व्याख्याता बताइएको छ ।

    शिक्षा मन्त्रालयले सर्वसाधारणलाई एनइइटी सम्बन्धी शंकास्पद दाबी, अनधिकृत सामग्री वा ठगीका गतिविधिबारे जानकारी दिन सकिने अनलाइन पोर्टल पनि सञ्चालनमा ल्याएको छ ।
    
    स्थानीय सञ्चारमाध्यमका अनुसार पुनःपरीक्षाका प्रश्नपत्र सुरक्षित रूपमा ढुवानी गर्न भारतीय वायु सेनाका हेलिकप्टर प्रयोग गर्ने तयारी गरिएको छ ।

    आर्थिक वृद्धिका बाबजुद भारतमा स्थायी तथा राम्रो आम्दानी भएका रोजगारीको अभावले युवामाझ असन्तुष्टि बढिरहेको छ । व्यावसायिक करियर सुरक्षित गर्ने आशामा विद्यार्थीहरूले वर्षौंसम्म तयारी गर्ने भए पनि तीव्र प्रतिस्पर्धा र परीक्षा प्रणालीका विवादहरूले थप दबाब सिर्जना गरेको छ ।

    एनइइटी विवादसँगै करिब २० लाख विद्यार्थी सहभागी हुने उच्च माध्यमिक तहको अर्को राष्ट्रिय परीक्षामा अनलाइन मूल्याङ्कन प्रणालीसम्बन्धी समस्या पनि सार्वजनिक भएको छ । धेरै विद्यार्थीहरूले गलत नतिजा प्रकाशित भएको वा गलत ग्रेड प्रदान गरिएको गुनासो गरेका छन् ।