नवीन लामिछाने
मनाङ ५ असारः पहिले जैविक खेतीपाती मात्रै हुने ठाउँ हो मनाङ । पहिले स्थानीय प्रजातिको स्याउ, फापरखेती हुन्थ्यो र गरिन्थ्यो । मनाङको नासों गाउँपालिका–६ तिल्चेका पुराना किसान कमल घले भन्नुहुन्छ, “मनाङको मौसम फेरिएको छ । स्थानीय जातको स्याउ पाउनै मुस्किल भएको छ ।” स्थानीय स्याउ बिक्री तथा विभिन्न परिकार बनाउने गरिएको भए पनि अहिले उत्पादन घट्दा विकासे (हाइब्रिड) स्याउ लगाएको प्रशस्त देखिने उहाँ बताउनुहुन्छ ।
स्थानीय प्रजातिको जस्तो स्वाद अहिलेका स्याउमा नपाइने उहाँ बताउनुहुन्छ । “स्थानीय जातकै स्याउका दानाको आकार घटेको छ । त्यति मात्रै हो र ! फापरको मिठास, करु, गहुँ, कोलु बोडीको दाना समेत घटेका छन्,” घले भन्नुहुन्छ, “हिउँ समयमा पर्दैन, पानीको काम नै पहिले त हिउँले गर्ने हो, कहिले अर्कै समयमा परेको हुन्छ त । कहिले हिउँ नै पर्दैन । केको हुनु खेतीपाती ।”
मनाङको यो व्यथा केवल एउटा गाउँको मात्र होइन, सिङ्गो हिमाली क्षेत्रको साझा समस्या बनेको छ । हिजोका दिनमा यहाँका किसानहरू प्रकृतिको लयसँगै बाँचेका थिए । हिउँ र वर्षाको निश्चित चक्र थियो, जसले माटोलाई भित्रैदेखि भिजाउँथ्यो र पोषणयुक्त बनाउँथ्यो । तर अहिले प्रकृतिको त्यो लय बिग्रिएको छ ।
पहिले प्राङ्गारिक मलबाहेक अरु कुनै पनि बजारिया मल हाल्ने चलन थिएन । तर, फल राम्रो हुन्थ्यो । अहिले धेरै फल्ने भए पनि स्वाद र पोषिलो नहुने घलेको अनुभव छ । खेतीपातीमा किरा नै देखिँदैनथ्यो, अहिले किरा प्रशस्त भेटिएको उहाँ बताउनुहुन्छ । खेतीपाती जोगाउनकै लागि विषादी प्रयोग गर्ने किसान बढ्न थालेको उहाँको भनाइ छ ।
हिमाली क्षेत्रमा विषादीको प्रवेश हुनु आफैँमा एउटा गम्भीर समस्या हो । चिसो हावापानीमा किराको प्रकोप कम हुने विश्वास हिजोका दिनमा थियो तर तापक्रम बढेसँगै नयाँ–नयाँ रोग र किराहरूले मनाङका पाखाहरूमा डेरा जमाउन थालेका छन् । “अहिले गोलभेडा, काउली, बन्दा, फर्सी, प्याज, लसुन, साग, मूला, गाजरलगायतका तरकारीखेती हुन थालेका छन् । उत्पादन बढ्दै जाँदा यहाँको बजार पनि फराकिलो भएको छ तर माटोको उत्पादन गर्ने क्षमता भने खस्कँदो अवस्थामा छ,” नासों गाउँपालिका–८ ताचैका किसान सोलबहादुर गुरुङले भन्नुभयो । विषादी प्रयोग बढ्दै जाँदा मानवीय स्वास्थ्यमा प्रभाव पार्ने देखिएको गुरुङको भनाइ छ । मनाङमा हुने यस्तो परिवर्तनले स्थानीय बासिन्दाको आहारविहारमा समेत असर पारिरहेको छ ।
कृषि भूगोल र रैथाने बालीको विरासत
समुद्री सतहबाट एक हजार ८८० मिटरदेखि आठ हजार १६३ मिटरसम्म उचाइ समेटेको मनाङ रैथाने खेतीबालीमा आत्मनिर्भर छ । दुई हजार २४६ वर्गकिलोमिटर भूभाग समेटिएको यस जिल्लाको दुई लाख २४ हजार ६०० हेक्टरमध्ये दुई हजार १५६ भूभाग खेतीयोग्य छ । खेतीयोग्य भूमिको दुई हजार १७ हेक्टर क्षेत्रफलमा मात्रै खेती गरिँदै आएको कृषि विकास कार्यालयले जनाएको छ । त्यसमध्ये एक हजार ६३ हेक्टर जमिन सिञ्चित क्षेत्र हो भने अन्य क्षेत्र प्राकृतिक रुपमा खेती सिँचाइ हुन्छ ।
यहाँ रैथाने बालीका रुपमा आलु, गहुँ, फापर, करु, उवा र कोलु बोडीलाई लिइन्छ । हाल कतिपय स्थानमा रैथाने बाली लोप हुने अवस्थामा पुगेका छन् भने कतिपय स्थानमा नगन्य मात्रामा मात्र खेती गर्ने गरेको पाइएको कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लाकै उच्च स्थानको रुपमा रहेको नार्पाभूमि गाउँपालिकामा रैथाने बाली प्रायः लोप हुने अवस्थामा पुगेको छ । उच्च हिमाली भेगमा हुने यस्ता बालीहरूले त्यहाँको विशिष्ट पहिचान बोकेका हुन्छन् तर ती लोप हुनु भनेको मनाङको मौलिकताको एक पाटो हराउनु हो ।
स्वाद र गुणस्तरमा क्रमिक परिवर्तन
मनाङमा उत्पादन हुने रैथाने बालीको स्वादमा परिवर्तन आएको किसानको अनुभव छ । नासोंका किसान सोलबहादुर गुरुङ भन्नुहुन्छ, “गर्मी बढेसँगै खेतीबालीको स्वाद र गुणस्तर नै फेरिने रहेछ । हामीले लगाएका स्याउ, आलु, फापरलगायतका कृषिउपजको स्वाद र गुणस्तर नै फेरिए जस्तो लाग्छ । पहिलेको जस्तो स्वाद पाइँदैन ।”
स्थानीय जातका स्याउको पनि स्वाद फेरिएको उहाँको भनाइ छ । मौसममा आधारित खेतीपाती हुने मनाङमा समयमा हिउँ पर्दैन । तल्लो मनाङमा लामो समयदेखि हिउँ नपरेको गुरुङ बताउनुहुन्छ । आजकाल हिउँको सट्टा पानी पर्छ । हिउँले माटोलाई चिस्यान मात्र दिँदैन, यसले माटोभित्रका हानिकारक तत्वहरूलाई निष्क्रिय बनाउन पनि मद्दत गर्छ भन्ने स्थानीयको बुझाइ छ ।
यहाँका अधिकांश किसानले अहिले आलु, स्याउलगायत अन्य कृषिउपजको स्वाद पहिलेजस्तो नभएको बताउने गरेका कृषि विकास कार्यालयका प्रमुख शङ्कर पौडेलले बताउनुभयो । उहाँका अनुसार तापक्रम, वर्षा र माटोको अवस्थाले बालीको रासायनिक संरचनामा असर पार्न सक्छ । “यसले स्वाद, पोषण र गुणस्तरमा परिवर्तन ल्याउन सक्छ । यहाँको खेती प्रणालीका विषयमा विस्तृत अध्ययन आवश्यक देखिएको छ”, उनले भन्नुभयो ।
नयाँ बालीको प्रवेश ः अवसरसँगै चुनौती
मनाङका अधिकांश गाउँमा अहिले रैथाने बालीको उत्पादन घट्दै गएको छ । विशेषगरी नार्पाभूमि र मनाङ ङिस्याङका उच्च हिमाली क्षेत्रमा फापर, जौ र उवा खेती उल्लेखनीय रुपमा घटेको छ । यहाँ विगतदेखि नै अन्य खेतीको तुलनामा आलुको बढी उत्पादन, माग तथा खपत भएकाले व्यावसायिक खेतीअर्थात् नगदे बालीका रुपमा विकास भएको पाइन्छ ।
जलवायु परिवर्तनलाई विशेषगरी नकारात्मक रुपमा मात्रै लिने गरिन्छ तर यसको परिवर्तनसँगै समयअनुसारका उत्पादनलाई पनि केही अवसर दिएको छ । जलवायु परिवर्तनको प्रभाव बढी हुँदा पहिले खेती नहुने क्षेत्रमा नयाँ बाली प्रवेश गर्ने अवसर बनेको छ । तापक्रम वृद्धिले पहिले सम्भव नभएका खेतीबाली उत्पादन हुनुका साथै व्यावसायिक खेती प्रणालीको विकास हुने देखिएको कृषि विकास कार्यालयका प्रमुख पौडेल बताउनुहुन्छ । उहाँका अनुसार जलवायुमैत्री प्रविधिको उपयोग गर्दै बन्दागोभी, काउली, गोलभेडा, प्याज, लसुन, रायो, गाजर, मुला, किवीजस्ता फलफूल तथा तरकारी खेतीको विकास भइरहेको छ । जिल्लाका उच्च भेगहरूमा अचेल तरकारीका लटरम्म टनेलहरू देखिन थालेका छन् । किसानले प्लास्टिक टनेल प्रयोग गरेर वर्षौंभरि तरकारी उत्पादन गर्न थालेपछि स्थानीय खाद्य आपूर्ति सुधार गर्नुका साथै आयात प्रतिस्थापनमा समेत योगदान पुगेको कार्यालयले जनाएको छ ।
कृषि विकास कार्यालयका अनुसार फापर र जौजस्ता परम्परागत खाद्य बालीको खेती निरन्तर घट्दो क्रममा रहेको छ । उवा तथा कागुनोको अभिलेखीकरण पछिल्ला वर्षमा सुरु भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै आलु अझै पनि मनाङको प्रमुख नगदे बालीको रुपमा रहेको छ । ङिस्याङ गाउँपालिकाका सबै वडामा रैथाने बाली लोप हुने अवस्थामा पुगेको कार्यालयका प्रमुख पौडेलले जानकारी दिनुभयो । “उत्पादन घट्दै जाँदा किसानले बाली फेर्न थालेका छन्, यसलाई सुहाउँदो वातावरण अभावले पनि खेतीबाली फेर्न थालेका छन्”, उहाँले भन्नुभयो, “मौसम अनुकूल खेतीलाई प्राथमिकता दिन थालेको पाइएको छ ।” परीक्षणपछि केही स्थानमा जलवायु परिवर्तन भए अनुसारका खेतीबाली परीक्षणकालीन खेती गरिरहेको उहाँको भनाइ छ ।
आधुनिक प्रविधि र प्रजातिको विकासमा होडबाजी
बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र काठमाडौँका अनुसार कम जग्गामा बढी उत्पादन र उन्नत जातको खेती गर्ने उद्देश्यले गर्दा स्थानीय जातहरू लोप हुने अवस्थामा पुगेका छन् । हाल किसानहरूले बढी उत्पादन लिन उन्नत जातका बीउहरू प्रयोग गर्दा रैथाने जातहरू विस्थापित भएका हुन् । संरक्षण केन्द्रका अनुसार फापर, कोलु बोडी, जौ, कागुनो, च्युनो, उवा, लट्टे, जुनेलो, मस्याङ, गहत, खेसरी, भोगे सिमी, सिलाम, झुसेतिल आदिलाई स्थानीय तथा रैथाने बालीमा सूचीकृत गरिएको छ ।
हिमालपारिको जिल्ला मनाङ खेतीपाती र कृषिका लागि अब ‘दुर्गम’ रहेन । कृषि पकेट क्षेत्र तोकिएका अन्य भेगझैँ व्यावसायिक रूपमा धेरै थरी कृषिउपज उत्पादन हुन थालेपछि जिल्ला बाहिर पनि निर्यात हुन थालेको छ । ङिस्याङ गाउँपालिकामा बन्दा, काउली, गाजर, मुला, गोलभेडा, रायोजस्ता बेमौसमी तरकारीखेती सफल भएपछि आन्तरिक खपतसँगै आयात प्रतिस्थापन सम्भव भएकोे कार्यालयले जनाएको छ ।
यहाँका चार वटै पालिकामा एक दशकयता टनेल खेतीको अभ्यास हुँदै आएको छ । धेरैजसो किसान परम्परागत खेतीपाती छाड्दै व्यावसायिक स्याउखेतीतर्फ आकर्षित हुन थालेका छन् । रैथाने बाली हराउँदै जाने र गुणस्तर खस्किने चिन्ता बढ्न थालेसँगै कृषि विकास कार्यालयले अनुदानसहितका सचेतना कार्यक्रम प्राथमिकतामा राखेको छ । जलवायु परिवर्तनको प्रभावले बालीनालीको उत्पादन र गुणस्तरमा प्रभाव पारिरहेको बताउँदै कार्यालय प्रमुख पौडेलले भन्नुभयो, “रैथाने बालीको बीउ जोगाउन, परम्परागत खेतीलाई प्रोत्साहन गर्न हामी स्थानीय तहसँगको सहकार्यमा जुटेका छौँ ।”
हिमाली कृषि संरक्षणका लागि जलवायु वित्तको उपयोग बढाउन आवश्यक भएको विज्ञको भनाइ छ । जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम न्यूनीकरण तथा अनुकूलन कार्यक्रमका निम्ति अन्तरराष्ट्रियस्तरबाट उपलब्ध हुने जलवायु वित्तलाई कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने उहाँहरूको सुझाव छ । विशेषगरी रैथाने बीउ पुँजी स्थापना, सामुदायिक बीउ संरक्षण, जलवायुमैत्री बाली विकास तथा अनुसन्धानमा सरकारले जलवायु वित्त कोषको लगानी बढाउन आवश्यक छ ।
जलवायुमैत्री खेतीलाई प्रोत्साहन गर्न सकिएमा मात्रै रैथाने खेतीको बीउ संरक्षण र प्रवद्र्धन गर्न सकिनेछ । यसको न्यूनीकरण गर्न जलवायु वित्त वा जलवायु अनुकूलन कोषमा आएको बजेटको उपयोग कृषि क्षेत्रमा लगानी बढाउन सरकारले ताकेता गर्नुपर्ने देखिन्छ । यसले कृषि र हिमशृङ्खला संरक्षणका निम्ति भरपुर उपयोगलाई तीनै तहको सरकारले प्राथमिकतामा राख्नुपर्ने देखिएको छ ।
मनाङको माटोको सुगन्ध र त्यहाँका रैथाने बालीको मिठास जोगाउनु केवल एक किसानको चिन्ता मात्र होइन, यो त हाम्रो राष्ट्रिय खाद्य सुरक्षा र जैविक विविधतासँग जोडिएको विषय हो । मौसमको दबाबका बीच मनाङको खेतीपातीलाई जोगाइराख्नु अहिलेको सबैभन्दा ठूलो चुनौती बनेको छ ।