असार ६, २०८३ शनिबार

मुस्ताङ, ६ असारः थासाङ गाउँपालिकामा चक्रपथ निर्माण सम्पन्न भएको छ । विसं २०७७ मा ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्वको सडक’योजनाअन्तर्गत सडक निर्माण गरिएको हो । 

सङ्घीय सरकारअन्तर्गत सडक डिभिजन कार्यालय बागलुङका अनुसार चक्रपथ निर्माणपछि कालीगण्डकी नदी पारी रहेका चार वटा वडाका स्थानीयलाई सहज भएको छ । चक्रपथ निर्माणका लागि रु ३८ करोड ८८ लाखमा महालक्ष्मी हिमाली जेभी कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो ।
 
सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर सागर भण्डारीका अनुसार थासाङ गाउँपालिकाको चार वडाहरु जोड्ने चक्रपथका लागि बजेट अभाव हुँदा तोकिएको समयमा सम्पन्न हुन सकेको थिएन । विसं २०८० पुस ६ गते सम्पन्न भइसक्नुपर्ने थासाङ रिङरोड सडक बजेट अभाव हुँदा म्याद थपभई चालु वर्षको असार ३० गतेसम्म कायम गरिएको थियो ।

थासाङ गाउँपालिकाको लेते, छयो, कुज्जो, टिटी, धम्पु हुँदै कोखेठाँटीसम्मको सडकमा डिबिएसडी प्रविधिको कालोपत्र सडक निर्माण सम्पन्न भएको इन्जिनियर भण्डारीले बताउनुभयो । थासाङस्थित चार वडा वडाका गाउँहरु जोड्ने रणनीतिक महत्वको चक्रपथ सडकका लागि आठ दशमलव पाँच मिटर चौडा हुने गरी १० किलोमिटर सडकमा कालोपत्र गरिएको इन्जिनियर भण्डारीले उल्लेख गर्नुभयो ।

    रिङरोड सडकअन्तर्गत छयोदेखि कोखेठाँटीसम्मको दूरीमा सडक स्तरोन्नति गरी कालोपत्र गरिएको हो । सडकको सम्पूर्ण काम  सम्पन्न भई ‘रोड मार्किङ’ र ‘ट्राफिक साइन पोष्टिङ’ लगायतका काम सकिएका छन् । 

        थासाङ गाउँपालिकास्थित (बेनी–जोमसोम) मुख्य राजमार्ग सडकलाई जोड्ने गरी रणनीतिक महत्वको सडक निर्माण सम्पन्न भएको थासाङ गाउँपालिकाका उपाध्यक्ष सोमल हिराचनले बताउनुभयो । उहाँले कालीगण्डकी पारीका चार वडाहरुलाई जोड्ने रिङरोड सडक सम्पन्न भएको र प्रदेश सरकारबाट कार्यान्वयनमा आएको कालीगण्डकी नदीमा निर्माणाधीन लेते–छयो र लेते–धम्पु जोड्ने पुल सम्पन्न भएमा थासाङका सबै गाउँमा सडक पहुँच स्थापित हुनेछ ।