असार ६, २०८३ शनिबार

चितवन, ६ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी लोकतन्त्रबाट कहिल्यै विमुख नहुने बताउनुभएको छ । 

पार्टीको महाधिवेशनअघि आज यहाँ भएको बैठकमा उहाँले लोकतन्त्रबाट आफूहरू कदापि विमुख नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो “सङ्घीय लोकतान्त्रिक गणतन्त्र, देशको संविधान  मुलुकलाई अहिलेको अवस्थामा ल्याउन योगदान गरेकाहरूको जगमा हामी उभिएका छौँ, हामीलाई यसमा गर्व छ । हामी गर्वका साथ यो परिवर्तनको सँघारमा उभिएका छौँ। लोकतन्त्रबाट विमुख हुनेछैनौँ” 

आन्तरिक लोकतन्त्रलाई मजबुत पार्न सकिएन भने कुनै न कुनै बिन्दुमा पुगेर त्यसले दुर्घटना निम्त्याउने भन्दै उहाँले भन्नुभयो “एउटा घरमा पनि दुर्घटना र समाजमा हुने दुर्घटना भन्दा राजनैतिक पार्टीमा हुने दुर्घटनाको निकै ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ ।” सचेत भएर  अबका कदम चाल्नुपर्ने उहाँले बताउनुभयो । 

जुन भूमिकामा रहे पनि आफूलाई जिम्मेवार नागरिकका  रुपमा प्रस्तुत गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै सभापति लामिछानेले अस्वस्थ प्रतिस्र्धाबाट टाढा रहनुपर्नेमा जोड दिनुभयो ।

पार्टीलाई अझ व्यवस्थित एवं गतिशील तुल्याउन अधिवेशन सफल हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।