कात्तिक ८, २०७८ सोमबार

गैरसैनिक सरकार विघटन गर्दै सुडानी सेनाले राजनीतिक नेताहरूलाई गिरफ्तार गरी सङ्कटकालको घोषणा गरेको छ ।

लामो समय सुडानमा शासन गरेका ओमार अल‍-बशिरको सरकार अपदस्थ भएर दुई वर्षअघि सङ्क्रमणकालीन सरकार बनेपछि त्यहाँ सेना र गैरसैनिक नेताहरूबीच द्वन्द्व चर्किएको छ।

आन्दोलनकारीहरू सडकमा ओर्लिएको राजधानी खार्तुममा गोली चलेको आवाज सुनिएका विवरण आएका छन्।

उत्तरी अफ्रिकी देशको राजधानीबाट सोमवार देखिएका भिडिओहरूमा प्रदर्शनकारीहरू सैनिक मुख्यालय नजिकको क्षेत्रमा प्रवेश गरेको देखिन्छ।

एकजना प्रदर्शनकारीले एएफपी समाचार संस्थासँग "देशको प्रजातान्त्रिक रूपान्तरणका लागि ज्यान दिन पनि तयार रहेको" बताएका छन्।

प्रधानमन्त्री अब्दुल्ला हमदुकसहित मन्त्रिपरिषद्का अन्य सदस्यलाई गैरसैनिक नेताहरूसँगै नजरबन्दमा राखिएको बताइएको छ।

सूचना मन्त्रालयको फेसबुकमा राखिएको एउटा विज्ञप्तिमा पक्राउ परेकाहरूलाई अज्ञात स्थलमा राखिएको उल्लेख छ।