कात्तिक ९, २०७८ मंगलबार

कृषि तथा वन विश्वविद्यालयले लामो समयदेखि भैँसीको बेमौसमी प्रजनन् गराउन गरेको अनुसन्धान सफल भएको मुख्य अनुसन्धानकर्ता प्रा.डा. भूमिनन्दन देवकोटाले बताए ।

“हामी बेमौसमी भैँसी प्रजननमा सफल भएका छौँ”, चितवनमा जारी एसिया भैँसी सम्मेलन आयोजक समितिका अध्यक्षसमेत रहेका भैँसीसम्बन्धी विज्ञ प्रा.डा. देवकोटाले भने, “विगत पाँच वर्षयता नेपालका विभिन्न ठाउँका दुई सय भैँसीमा गरिएको अनुसन्धानमा ९४ वटा भैँसीलाई बेमौसमी प्रजनन् गराउन सफल भएका छौँ । यो कुल प्रजनन्‌को ४७ प्रतिशत हो ।”

नगद पशुधनका रूपमा लिइने भैँसीको मुख्य प्रजनन् मौसम साउनदेखि मङ्सिरसम्म हो । यसवेला हरियो घाँस र पोषणयुक्त खानेकुराका साथै वर्षात्मा सजिलै पानीमा आहाल खेल्न पाउने भएकाले भैँसीको प्रजनन् मौसम मानिन्छ । यसरी प्रजनन् भएका भैँसी १० महिनामा ब्याउँछन् । फागुनदेखि वैशाखसम्मको सुक्खा समय भने भैँसी प्रजनन्‌का लागि बेमौसम मानिन्छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।