असार ८, २०८३ सोमबार

काठमाडौँ, ८ असार : नेपाल राष्ट्र बैंकले देशव्यापी रुपमा सङ्कलन गर्दै आएको उपभोक्ता मूल्य सूचकांक (सिपिआई) अब राष्ट्रिय तथ्याङ्क कार्यालयले सङ्कलन गर्ने भएको छ । मुद्रास्फीति मापन, आर्थिक नीति निर्माण, तलब तथा भक्ता समायेजन, जीवनयापन लागत मापन गर्न उक्त विवरण महत्वपूर्ण रहँदै आएको छ ।

    केन्द्रीय बैंकले नियमित रुपमा उपभोक्ता मूल्य सूचकाङ्क तथा मुद्रास्फीतिसम्बन्धी तथ्याङ्क सार्वजनिक गर्दै आएको छ । राष्ट्रिय तथ्याङ्क परिषद्को आजको बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालयलाई नै उक्त जिम्मेवारी प्रदान गरेको प्रमुख तथ्याङ्क अधिकारी डा कमलप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

    राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । आगामी एक वर्षसम्म तथ्याङ्क सङ्कलन, प्रशोधन तथा प्रकाशनका लागि नेपाल राष्ट्र बैंकलाई सहयोग गर्नेछ । तथ्याङ्क कार्यालयका कर्मचारी, प्राविधिक जनशक्ति एक वर्षसम्म केन्द्रीय बैंकको सहयोगमा काम गर्ने र क्रमशः तथ्याङ्क कार्यालयमा हस्तान्तरण हुनेछ ।  

    लामो समयसम्म उपभोक्ता मूल्य सूचकाङ्कको काम राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेपनि पछि केन्द्रीय बैंकले जिम्मा लिएर प्रकाशन गर्दै आएको छ । केन्द्रीय बैंकले हरेक महिना विवरण सार्वजनिक गर्दै आएको छ ।

    प्रमुख तथ्याङ्क अधिकारी पोख्रेलले महत्वपूर्ण जिम्मेवारी प्राप्त भएको जानकारी दिँदै तथ्याङ्कको दोहोरापना हटाउन सहयोगी सिद्ध हुने विश्वास व्यक्त गर्नुभयो । “हामीले महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेका छौँ, यसले हामीलाई थप सबल बनाउनेछ भने तथ्याङ्क कार्यालयलाई पनि काम उपलब्ध हुनेछ”, पोख्रेलले भन्नुभयो ।

    संरचनागत सुधार, स्रोत तथा साधनको उपलब्धतालाई समेत ख्याल गरेर सङ्क्रमणकालीन रुपमा एक वर्षसम्म केन्द्रीय बैंकको सहयोगमा काम गर्ने र क्रमशः तथ्याङ्क कार्यालयले जिम्मेवारी लिने उहाँको भनाइ छ । सात दिनमा तथ्याङ्क सङ्कलन, प्रशोधन तथा महिना दिनमा प्रकाशन गर्नुपर्ने भएकाले उपभोक्ता मूल्य सूचकांकको काम आफैमा चुनौतीपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो ।

    हाल तथ्याङ्क कार्यालयले त्रैमासिक रुपमा उपभोक्ता मूल्य सूचकाङ्कको काम गर्दै आएको थियो । कार्यालयलाई थप सबल सक्षम र कामकाजी बनाउने उद्देश्यका साथ राष्ट्र बैंकले गर्दै आएको जिम्मेवारी प्राप्त भएको जानकारी दिँदै प्रमुख तथ्याङ्क अधिकारी पोख्रेलले यसलाई गौरवको रुपमा लिनुपर्ने तर्क गर्नुभयो ।

    उहाँले तथ्याङ्कको दोहोपना हट्ने र मौद्रिक नीति तय गर्ने केन्द्रीय बैंकले नै उपभोक्ता मूल्य सूचकाङ्कको काम गर्दा आउने आलोचना समेत कम भएर जाने विश्वास व्यक्त गर्नुभयो । “आवश्यक तयारीका लागि केही समय लाग्छ, त्यसपछि हामी हामी आफै सबल र सक्षम बन्छौ । तत्कालका लागि राष्ट्र बैंककै साधन र स्रोत उपयोग गरेर काम गर्छौ”, उहाँले भन्नुभयो ।