असार ११, २०८३ बिहिबार

सुरुङ्गा (झापा) ११ असारः  वन क्षेत्रको न्यून विस्तार, तीव्र जनसङ्ख्या वृद्धि र बढ्दो बसाइँसराइका कारण झापामा मानव–वन्यजन्तु द्वन्द्व चुनौतीपूर्ण बन्दै गएको छ । यही अवस्थालाई मध्यनजर गर्दै डिभिजन वन कार्यालय झापाले चालू आर्थिक वर्षमा वृक्षरोपणलाई उच्च प्राथमिकतामा राख्दै सामुदायिक वनसँगको सहकार्यमा खाली जमिनमा व्यापक रूपमा बिरुवा रोप्ने योजना अघि बढाएको छ ।

    पूर्वी तराईको सबैभन्दा बढी जनघनत्व भएको जिल्ला झापाको कूल क्षेत्रफल एक हजार ६०६ वर्ग किलोमिटर रहेको छ । तर वन क्षेत्र भने १८ हजार ६५ हेक्टरमा मात्र सीमित छ । यो जिल्लाको कूल भूभागको ११.२४ प्रतिशत हो । वन क्षेत्रको यो अनुपात राष्ट्रिय औसतभन्दा कम रहेको छ । आन्तरिक बसाइँसराइका कारण यहाँको जनसङ्ख्याको चाप निरन्तर बढिरहेको छ । बढ्दो बस्ती विस्तारका कारण वन क्षेत्रमाथिको दबाब बढ्दै जाँदा वन्यजन्तुको प्राकृतिक बासस्थान खुम्चिँदै गएको छ । यसको प्रत्यक्ष असर मानव र वन्यजन्तुबीच हुने द्वन्द्वमा देखिन थालेको छ ।

    नेपाल सरकारले सन् २०३० सम्म वन विनाशलाई शून्यमा झार्ने तथा देशको वन क्षेत्र ५० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ । डिभिजन वन कार्यालय झापाका वन अधिकृत रामभक्त यादवका अनुसार हाल देशको वन क्षेत्र ४६ प्रतिशत नाघेको छ । तर झापाको भौगोलिक अवस्था, सीमित वन क्षेत्र र तीव्र शहरीकरणका कारण उक्त राष्ट्रिय लक्ष्य हासिल गर्न चुनौतीपूर्ण देखिएको छ ।

    वन अधिकृत यादवका अनुसार मानव–वन्यजन्तु द्वन्द्व कम गर्दै हरियाली विस्तार गर्ने उद्देश्यले यस वर्ष करिब ५० हेक्टर खाली जमिनमा वृक्षरोपण गरिनेछ । यो कार्यक्रम सामुदायिक वन उपभोक्ता समूहसँगको समन्वयमा सञ्चालन हुनेछ । उहाँका अनुसार राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत १५ हेक्टर क्षेत्रमा तारबारसहित वृक्षरोपण गरिनेछ । त्यसैगरी नमूना वृक्षरोपण कार्यक्रममार्फत २० हेक्टर, प्रदेश सरकारको वन विकास तथा जडीबुटी प्रवद्र्धन कार्यक्रमअन्तर्गत चार हेक्टर तथा कृषि वन प्रवद्र्धन कार्यक्रममार्फत थप चार हेक्टर क्षेत्रमा बिरुवा रोपिनेछ ।

    वृक्षरोपण कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्लाका पाँच स्थानमा नर्सरी सञ्चालन गरिएको वन अधिकृत यादवले बताउनुभयो । डिभिजन वन कार्यालय चन्द्रगढी, मेची बहुवन उपडिभिजन, जलथल उपडिभिजन रङ्गियाडाँडा, दमक उपडिभिजन झिलझिले तथा कन्काई उपडिभिजन सुरुङ्गास्थित नर्सरीमा विभिन्न प्रजातिका करिब दुई लाख बिरुवा उत्पादन गरिएको उहाँले जानकारी दिनुभयो । यसका साथै वन कार्यालयले करिब रु १० लाख बराबरका बाँसका बिरुवा र करिब रु १० लाख बराबरका फलफूलका बिरुवा खरिद गरी निःशुल्क वितरण गर्ने तयारी छ । 

    विशेषगरी जङ्गली हात्तीको आवतजावत हुने क्षेत्रमा बाँसका बिरुवा रोप्न प्रोत्साहन गरिनेछ । यसले हात्तीको प्राकृतिक आहार र आवरणको व्यवस्थापनमा सहयोग पुग्ने विश्वास गरिएको छ । वन अधिकृत यादवका अनुसार यस वर्ष पहिलोपटक श्रीखण्डका बिरुवासमेत वितरण गरिनेछ । आर्थिक तथा वातावरणीय दुवै हिसाबले महत्वपूर्ण मानिने श्रीखण्डको प्रवद्र्धनले स्थानीय समुदायलाई दीर्घकालीन रुपमा आम्दानीको अवसर सिर्जना गर्नुका साथै वनको जैविक विविधता संरक्षणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।

    वन क्षेत्र विस्तारसँगै वन्यजन्तुको प्राकृतिक बासस्थान संरक्षण, वातावरणीय सन्तुलन कायम गर्ने तथा मानव–वन्यजन्तु द्वन्द्व कम गर्ने उद्देश्यले अघि बढाइएको वृक्षरोपण अभियानलाई झापामा दीर्घकालीन वातावरण संरक्षणको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ ।