ताप्लेजुङ, ११ असारः ताप्लेजुङ विकास मञ्चले दौँतारी नेपालको सहयोगमा जिल्लाका २०३ जना जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । विगत छ वर्षदेखि निरन्तर शैक्षिक सामग्री सहयोग गर्दै आएको मञ्चले यस वर्ष जिल्लाका छ वटा विद्यालयका विद्यार्थीलाई झोला, जुत्ता, कापी, कलमलगायत शैक्षिक सामग्री प्रदान गरेको हो ।
मञ्चका अध्यक्ष सन्तोष प्रसाईंका अनुसार भगवती आधारभूत विद्यालय सिनाम, महेन्द्र आधारभूत विद्यालय खेवाङ, सूर्यदेवी माध्यमिक विद्यालय सान्थाक्रा, सिद्धेश्वरी माध्यमिक विद्यालय डुम्रीसे, भगवती आधारभूत विद्यालय आम्वेगुदिन र तुलसी आधारभूत विद्यालय खेजेनिमका २०३ जना विद्यार्थीलाई सामग्री वितरण गरिएको छ ।
आज आयोजित एक कार्यक्रममा सम्बन्धित विद्यालयका प्रतिनिधिलाई शैक्षिक सामग्री हस्तान्तरण गरी विद्यालयसम्म पठाइएको अध्यक्ष प्रसाईंले जानकारी दिनुभयो । कार्यक्रममा दौँतारी नेपालका अध्यक्ष सम्पन्न स्थापितले यसपटक जिल्लाको एक विद्यालयलाई ल्यापटपसमेत प्रदान गरिएको बताउनुभयो । उहाँका अनुसार फुङलिङ नगरपालिका स्थित दीपज्योति आधारभूत विद्यालयलाई शैक्षिक सिकाइमा उपयोग हुने लुमा सफ्टवेयरसहितको ल्यापटप हस्तान्तरण गरिएको छ । शिक्षाको पहुँच विस्तार र आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीलाई अध्ययनमा प्रोत्साहन गर्ने उद्देश्यले सहयोग कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।