काठमाडौँ, ११ असारः विद्यालय तहको पाठ्यक्रम पुनरावलोकन गर्न गठित कार्यदलले सरोकारवालासँग रायसुझाव मागेको छ । ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’लाई समयसापेक्ष पुनरावलोकन गर्न गठित कार्यदलले आफ्नो कार्ययोजनाबमोजिम सुझाव मागेको हो ।
पाठ्यक्रम विकास केन्द्रले आफ्नो वेबसाइटमार्फत सार्वजनिक रूपमा माग गरिएको राय सुझाव तथा प्रतिक्रियाका लागि तोकिएको फाराम प्रकाश गरेको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को गत वैशाख ११ गते शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा भएको ९८औँ बैठकले काठमाडौँ विश्वविद्यालयको ‘स्कुल अफ एजुकेसन’ का डीन प्रा डा बालचन्द्र लुइँटेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।
शैक्षिक वर्ष २०८० देखि राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ को पाँच वर्षे चक्र पूरा भएकाले पनि त्यसमा पुनरावलोकन गर्न लागिएको हो । कार्यदलका सदस्यहरुमा डा लेखनाथ पौडेल, डा अमिना सिंह, पवित्रबहादुर गौतम, डा प्रमोद भट्ट, ज्ञानेन्द्र मल्ल, सागेन्द्र श्रेष्ठ, रीचा न्यौपाने, रेवती कार्की र सदस्यसचिवमा पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेल हुनुहुन्छ ।