कात्तिक १०, २०७८ बुधबार

सुडानका सेनाप्रमुख जनरल अब्देल फताह अल बुर्हानले सत्ता कब्जा गर्ने कदमको बचाउ गर्दै गृहयुद्ध रोक्नका लागि सरकारलाई अपदस्थ गरिएको बताएका छन् । अपदस्थ प्रधानमन्त्री अब्दल्ला हाम्दोकलाई आफ्नै घरमा राखेको पनि बुर्हानले बताए ।

‘प्रधानमन्त्री उनकै घरमा थिए । यद्यपी, हामीलाई उनी खतरामा छन् भन्ने लाग्यो । त्यसपछि मैले मेरै घरमा ल्याएर राखेको छु ,’ उनले भने । यता, सेनाले सत्ता कब्जा गरेलगत्तै प्रदर्शनकारीहरूले सडक तताएका छन् । यसक्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच ठूलो मुडभेड भएको छ । 


सेनाले सोमबार सत्ता कब्जा गरेसँगै सुडानको सङ्क्रमणकालीन प्रजातन्त्रको घाँटी पनि निमोठिएको छ । दुई वर्षअघि जनआन्दोलनको दबाब थेग्न नसक्दा सैन्य शासक ओमर अल बसिरले राजीनामा गरेका थिए । त्यतिवेला सेनाले नै साथ छाडेपछि बसिरको राजीनामा आएको थियो । बसिरको ३ दशक लामो राज समाप्त भएसँगै सुडानमा सेनासहितको सहमतिमा सङ्क्रमणकालीन प्रजातान्त्रिक सरकार बनेको थियो ।