सिद्धार्थनगर (भैरहवा), १५ असार : औषधि व्यवस्था विभागले रुपन्देहीस्थित ग्रेस फर्मास्युटिकल्स प्रालिद्वारा उत्पादित लिनारेस एम ८५० ट्याब्लेट गुणस्तरहीन रहेको पुष्टि गरेको छ ।
विभागले औषधिको बिक्री–वितरण रोक्न तथा बजारबाट सो औषधि फिर्ता गर्न सम्बन्धित कम्पनीलाई निर्देशन दिएको छ ।
बजार अनुगमनका क्रममा सङ्कलन गरिएको नमूनालाई राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा ब्याच नम्बर टीएलएमएस–००६ को उक्त औषधि निर्धारित गुणस्तर मापदण्ड अनुसार नभए पछि बिक्री वितरणमा रोक लगाइएको हो ।
औषधि ऐन, २०३५ को दफा १४ बमोजिम विभागले सो ब्याच नम्बरको औषधिको बिक्री–वितरण तत्काल रोक्का गरी बजारबाट फिर्ता गर्न सम्बन्धित उद्योगलाई निर्देशन दिएको जनाएको छ ।