असार १८, २०८३ बिहिबार

गण्डकी, १८ असार : पोखराका अग्रज पत्रकार केशवराज पराजुलीको ९२ वर्षको उमेरमा निधन भएको छ । पोखरा महानगरपालिका–३ नदीपुरस्थित निवासमा गएराति निधन हुनुभएका पराजुलीको आज सेती नदी किनार तुलसीघाटमा अन्त्येष्टि गरिएको छ । 

    उहाँ विसं २०४० देखि प्रकाशन सुरु भएको जनमत दैनिकको संस्थापक सम्पादक हुनुहुन्थ्यो । विभिन्न पत्रपत्रिकामा पराजुलीका खोजमूलक लेखरचना तथा केही कृति प्रकाशित छन् । 

    पोखराको पत्रकारिता, शिक्षा र सामाजिक क्षेत्रमा उहाँको योगदान रहेको  छ । पराजुलीका एक छोरा र चार छोरी हुनुहुन्छ । उहाँको निधनमा नेपाल पत्रकार महासङ्घ, कास्कीले विज्ञप्तिमार्फत दुःख व्यक्त गरेको छ ।