बैङ्कक, १८ असार: फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले यो हप्ता पेरिसको राजकीय भ्रमणका क्रममा थाइल्याण्डका राजासामु घुँडा टेकेको भन्दै भाइरल बनेको एआईद्वारा निर्मित तस्वीर भएको थाइल्याण्डको विदेश मन्त्रालयले बिहीबार जानकारी गराएको छ ।
राजा महा वजिरालोङ्कोर्ण र रानी सुथिदाको यो भ्रमण सन् १९६० यता थाइ नरेशद्वारा गरिएको फ्रान्सको पहिलो औपचारिक भ्रमण थियो । दुई देशबीचको औपचारिक कूटनीतिक सम्बन्धको १७० औँ वर्षगाँठ मनाउने सन्दर्भमा थाइ नरेशको फ्रान्स भ्रमण भएको थियो ।
थाइ सञ्चारमाध्यमका अनुसार राष्ट्रपति भवनमा आयोजित भोजमा म्याक्रोँले ७३ वर्षीय राजालाई फ्रान्सको सर्वोच्च सम्मान ‘ग्रान्ड क्रस अफ द लिजन अफ अनर’ र रानी सुथिदालाई ‘ग्रान्ड क्रस अफ द नेशनल अर्डर अफ मेरिट’ प्रदान गर्नुभएको थियो ।
थाइल्याण्डमा अनलाइनमार्फत् व्यापक रूपमा फैलाइएको एउटा तस्वीरमा म्याक्रोँले पुरस्कार दिँदै घुँडा टेकेको देखाइएको थियो ।
यसै सम्बनधी बुधबार पोस्ट गरिएको एउटा थाइ भाषाको फेसबुक पोस्टले २४ घण्टामा ४० हजारभन्दा बढी ‘लाइक्स’ र दुई हजारभन्दा बढी शेयर पाएको थियो ।
यो पोस्ट २० लाखभन्दा बढी ‘फलोअर’ भएको, प्रायः सेना समर्थक र राष्ट्रवादी टिप्पणी प्रकाशित गर्ने पेजले पनि शेयर गरेको थियो ।
पोष्टबारे एक व्यक्तिको प्रतिक्रियामा भनिएको छ, “म अत्यन्त खुसी र भावुक भएको छु कि फ्रान्स जस्तो हाम्रोभन्दा धेरै धनी र विकसित देशले पनि हाम्रो देशलाई यति महत्व दिन्छ ।”
अर्को व्यक्तिले म्याक्रोँलाई ‘अत्यन्त आकर्षक’ भनेर ‘थाइ दिल जितेको’ टिप्पणी गरेका पाइन्छ ।
तर थाइल्याण्डको विदेश मन्त्रालयका अधिकारीले तस्वीर एआई निर्मित भएको पुष्टि गरेका छन् ।
“इम्यानुएल म्याक्रोँले राजकीय सम्मान प्रदान गर्दै घुँडा टेकेको कुनै तस्वीरको प्रमाण छैन,” थाई अधिकारीले एएफपीसँग बताए ।
एएफपीकोे तथ्य परीक्षण सेवाले तस्वीर ओपन एआईको तस्वीर प्रमाणिकरण उपकरणमा जाँच्दा ओपन एआईबाट बनाइएको पत्ता लगाएको थियो ।
एएफपीले अनलाइन पोस्टमा रानी सुथिदाजस्तो देखिने महिलाको पोशाकलाई भ्रमणका क्रममा खिचिएका एआई तस्वीरहरूसँग तुलना गर्दा मुख्य भिन्नता फेला पारेको थियो ।
थाइ विदेश मन्त्रालयले प्रकाशित गरेको औपचारिक तस्वीरहरूमा पनि म्याक्रोँले थाई नरेश सामु घुँडा टेकेको कुनै दृश्य छैन ।