असार १८, २०८३ बिहिबार

कर्णाली, १८ असारः कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटना भइ कर्णाली नदीमा खसेको यात्रुबाहक गाडी हालसम्म भेटिएको छैन । 

    सशस्त्र प्रहरी बल, नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतको ६ गोताखोरको टोली झण्डै चार घण्टादेखि उक्त गाडीको खोजबीन गरिरहेको छ । पानीको सतह बढेको र वर्षापछि आएको बाढीले पानी धमिलो हुँदा गाडी खोज्न नसकिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले जानकारी दिनुभयो । उहाँ करिब ५० सुरक्षाकर्मीसहित घट्नास्थलमा पुग्नुभएको थियो ।

    “राति भएकाले खोज तथा उद्धारको काम हुन सकेको छैन, शुक्रबार बिहानैदेखि पुनः खोज उद्धार कार्य थाल्छौँ”, उहाँले भन्नुभयो । 

    आज बिहान सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क प्र ०२–००१ ख १०५५ नम्बरको गाडी ११ः३० बजे दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडामा दुर्घटना भई कर्णाली नदीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक श्रवण विकका अनुसार घटनास्थलमा उद्धार सामाग्रीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेसको जनशक्ति संयुक्तरुपमा खोज तथा उद्धार कार्यमा परिचालन गरिएको थियो । 

    सुर्खेत बसपार्कबाट बिहान छुट्दा उक्त गाडीमा पाँच जना सवार रहेको भनिए पनि उक्त सङ्ख्या एकिन नभएको प्रहरी नायब उपरीक्षक विकले बताउनुभयो । उहाँका अनुसार गाडी कर्णाली नदीमा डुबेको स्थान प्रहरी चौकी पाल्तडाबाट तीन किलोमिटर उत्तरतर्फ र जिप्रका दैलेखबाट ५० किलोमिटर पश्चिमतर्फ पर्छ ।
–––