असार १९, २०८३ शुक्रबार

सिद्धार्थनगर (भैरहवा), १९ असारः जिल्ला अदालत रुपन्देहीले यस वर्ष सात हजार ६४२ मुद्दामध्ये चार हजार १०९ वटा मुद्दा फछ्र्यौट गरेको जनाएको छ । चालु आव २०८२÷८३ को असार १७ गतेसम्मको विवरणअनुसार सो अदालतमा अब तीन हजार ५३३ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको छ ।
 
    जिल्ला अदालतका प्रमुख न्यायाधीश अशोककुमार बस्नेतले गत आवबाट जिम्मेवारी सरी आएका तीन हजार २४० र चालु आवमा दर्ता भएका चार हजार ४०२ समेत गरी सात हजार ६४२ मुद्दा रहेकामा चार हजार १०९ फछर्याेट भई तीन हजार ५३३ मुद्दाको निर्णय हुन बाँकी रहेको जानकारी दिनुभयो ।  
 
    प्रमुख न्यायाधीश बस्नेतले बढ्दो मुद्दाको चापका बाबजुद स्रोतसाधनको अधिकतम सदुपयोग गर्दै छिटो, छरितो, जवाफदेही, पारदर्शी  एवं प्रभावकारी ढङ्गबाट न्यायसम्पादन गरेको बताउनुभयो । यसैगरी, वरिष्ठ जिल्ला न्यायाधीश धनिश्वर पौडेलले संस्थागत सुधारका कार्यक्रमसहित न्यायसम्पादनलाई थप प्रभावकारी, सेवामुखी र विश्वसनीय बनाउन अदालत क्रियाशील रहेको स्पष्ट गर्नुभयो ।
 
    अदालतका स्रेस्तेदार विमल रेग्मीका अनुसार सूचना प्रविधिमा आधारित रहेर न्यायसम्पादन प्रक्रियासँग सम्बन्धित कामकारबाहीलाई अभिलेखीकरण तथा सरलीकरण गर्दै अझ चुस्तदुरुस्त र प्रभावकारी बनाई वार्षिक लक्ष्य हासिल गर्न एकीकृत प्रयास गरिएको छ ।